


दमाैली, ९ असाेज । नेपालीहरुको महान् पर्व दसैंलाई लक्षित गरी तनहुँका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी कार्यालयलले जिल्लाका विभिन्न छ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
पृथ्वीराजमार्ग, डुम्रे बेसीशहर सडकखण्ड र भिमादमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चाडपर्वका क्रममा सर्वसाधारणको बढी भिडभाड हुने भएकाले उनीहरुको सहजताका लागि प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
तनहुँ भित्रिने नाका आँबुखैरेनी, सदरमुकाम दमौली बजार, बन्दीपुरको डुम्रे, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा, भिमाद, डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिकाको पुर्काेटमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
प्रहरी निरीक्षक विकले भने, “चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन् । सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्धेश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।”
उनका अनुसार अनुसार अनुसार लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् । उनले भने, “यात्रुले सहायता कक्षमा आएर आफ्नो समस्या राखेपछि प्रहरीले तत्कालै समस्या समाधान गर्नेछ ।”
दसैं, तिहार, छठ पर्वमा आवतजावत बाक्लो हुने भएकाले नागरिकहरुको सहज र भरपर्दो यात्रा सुनिश्चत गर्न, तोकिएको भाडादरमै यात्रा गर्न पाउने व्यवस्था गर्न र सिट क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कृष्ण चन्दले जानकारी दिए ।
चाडपर्वमा हुन सक्ने चोरीका घटना न्यूनीकरणका लागि सचेत हुन जिल्ला प्रहरीले आग्रह समेत गरेको छ । भीडभाडमा चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा बहुमूल्य गरगहना लगाएर नजान र सदैव सावधानी अपनाउन प्रहरीले आग्रह गरेको हो ।
बहुमूल्य गरगहनाहरु तथा ठूलो मात्रामा नगद घरमा नराख्न र बैङ्क तथा वित्तीय संस्थामा सुरक्षित राख्न, यात्राका क्रममा कुनै अपरिचित मानिसहरुसँग धेरै घुलमिल भई व्यक्तिगत गोपनीयता नखोल्न र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान अनुरोध गरिएको छ ।
चाडपर्वको समयमा भीडभाड हुने स्थानमा महिला हिंसा तथा यौन दुव्र्यवहार जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने हुँदा अवाञ्छित क्रियाकलाप भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
प्रहरीले चाडपर्वका बेला कानूनद्वारा प्रतिबन्धित जुवा, तास, लङ्गुर बुर्जा लगायतका खेल नखेल्न आग्रह गरेको छ । सार्वजनिक सवारीहरुमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडामा लिएमा वा टिकट सम्बन्धी कुनै समस्या भएमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क राख्न, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न र यात्रुहरुले पनि सवारी साधनमा सिट छ वा छैन भन्ने सोच विचार गरी मात्र यात्रा गर्न अनुरोध गरेको छ ।