


दमाैली, ९ असाेज । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखाेलामा पहिराेले बाटाे अवरुद्ध भएपछि यात्रहरु तनहुँ पुलजीप हुँदै पाँचकिलाेमा निस्कन थालेका छन् । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ पुलजीप हुँदै पाँच किलाे निस्किएर यात्रुहरु नारायणगढतर्फ जान थालेका छन् ।
मुग्लिनकाे पारीपट्टी रहेकाे तनहुँ खण्डमा पैदलयात्रा र माेटरसाइकलमार्फत् यात्रुहरु वारपार गरिरहेका छन् । झाेलुङ्गे पुल कटेपछि माेटरसाइकल लैजान गाह्राे हुने भएकाले स्थानीयले तानेर माेटरसाइकल चालकलाई सहयाेग गर्ने गरेका छन् ।
तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर प्रहरीले बससेवा समेत सञ्चालनमा ल्याएकाे छ । पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको प्रहरीले जनाएकाे छ ।