


काठमाडाै, १८ कात्तिक । काठमाडौं प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो ।सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गृह प्रशासनले पक्राउ नगरेको भन्दै विरोध जनाउँदै आएका थिए।
माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका बेला उनी २३ असोजमा पक्राउ परेका थिए। अनुमति नलिई प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो भने त्यसपछि उनी गृहमन्त्री अर्यालविरुद्ध खरो टिप्पणी गर्दै आएका छन्।
माइतीघर मण्डलाबाट पक्राउ गरेपछि प्रहरीले उनले लागूऔषध सेवन गरेको–नगरेको समेत परीक्षण गरेको थियो। त्यस क्रममा उनले गाँजा सेवन गरेको पाइएपछि प्रहरीले सुधार गृहमा पठाएको थियो। तर, केही दिनपछि उनी झन् उग्र अभिव्यक्ति दिन थालेका थिए।
यसअघि २९ मंसिर २०८१ मा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहेका बेला सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गरेपछि समेत उनी पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ गरी अदालतमा उनीविरुद्ध मुद्दा समेत दायर भएको थियो । त्यसमा उनी ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।