


दमाैली, २० कात्तिक । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत दमौलीको मुख्यचोकको डिभाइडरको केही भाग जबरजस्ती हटाएपछि सर्वसाधारणले विरोध जनाएका छन् । व्यास नगरपालिका–३ तरकारी लाइन र व्यास नगरपालिका–४ तर्फ जाने सर्भिसलेनको डिभाइडर त्यहाँका केही स्थानीयले जबरजस्ती रुपमा जेसीबी लगाएर हटाएका थिए ।
सडक सुरक्षा अन्तर्गत दमौली बजारमा छ लेनको बाटो विस्तार गरिएकामा दुवैतर्फ सर्भिस लेन निर्माण गरिएको छ । तर दमौलीको भोर्लेटार चोक, कालिकामार्ग र तरकारी लाइनतर्फका केही डिभाइर स्थानीयले जबरजस्ती हटाएका छन् ।
स्थानीय प्रेमकुमार श्रेष्ठले व्यक्तिगत सुविधाका लागि नियम उल्लङ्घन गर्न नहुने भन्दै प्रहरी प्रशासन मुखदर्शक बन्न नहुने बताए । कुमार अधिकारीले सडक अस्तव्यस्त बनाउने अधिकार कसैलाई नभएको भन्दै यस्ता कार्यले दुर्घटनाको जोखिम बढाउने उल्लेख गरे ।
मदन पाटाले यो ठाउँमा दुर्घटना भयो भने भत्कानेले जिम्मा लिनुपर्ने बताए । अर्जुन मजकोटीले लोकतन्त्रको सुनौलो अभ्यास दमौलीमा देखिएको भन्दै व्यङ्ग्य गरे । शैलेन्द्र न्यौपानेले यसबारेमा न नगरपालिका र न कोही नेताले बोलेको बताउँदै बोल्ने त सर्वसाधारण मात्रै भएको बताए ।
सुदीप काफ्लेले यस्तो गलत कार्य हुँदा पनि टुलुटुलु हेरेर बस्ने सडक विस्तार आयोजना, स्थानीय सरकार र स्थानीय प्रशासनको कमजोरी भएको बताए ।