


दमौली, १३ पुस । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस मानविकी तथा सामाजिक शास्त्र विभागको आयोजनामा चौरस्तामा नेपाल : युवा, नेपाली राजनीति, लोकतन्त्र र आगामी निर्वाचन विषयक बहस आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा सञ्चारकर्मी पवन आचार्यले अहिलेको नेपाल र गति र थिती, जैविक कृषि विज्ञ महेन्द्र श्रेष्ठले माटो र कृषिको भाषामा अहिलेको नेपाली राजनीति र समाजको समस्या, निर्वाचन र सुशासन विज्ञ रमेश अधिकारीले नेपाली लोकतन्त्रको यात्रा र आउँदो निर्वाचन र काङ्ग्रेसका युवा नेता सचिन तिमल्सेनाले नवयुवाको आक्रोश, आशा र राष्ट्र निर्माणमा भूमिका विषयमा बहस गरेका थिए ।
बहसको अन्तिम खण्डमा जेसीआइ व्यास नगरका अध्यक्ष अजर नागीला, आदिकवि भानुभक्त क्याम्पस (एबीसी) स्ववियु अध्यक्ष अनुप आले, युवा सामाजिक कार्यकर्ता बसन्ती थापा, एविसी क्रिकेट क्लबका अध्यक्ष प्रमिश न्यौपाने, रेडक्रसकर्मी सुमन खड्का, अनेरास्ववियुका नेता आशिक पौडेल लगायतले जिज्ञासा राखेका थिए ।
बहसको औचित्यका सम्बन्धमा निवर्तमान क्याम्पस सञ्चालक समिति सदस्य एवं युवा अभियान्ता अपार पौडेलले सहजीकरण गरेका थिए ।
कार्यक्रम मानविकी तथा सामाजिक शास्त्र विभागको प्रमुख एवं सहायक क्याम्पस प्रमुख बिमल गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले धन्यवाद दिएका थिए ।