


दमौली, १५ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन र म्याग्दे गाउँपालिकाको संयुक्त अनुगमन पश्चात् म्याग्दे गाउँपालिकाभित्र सञ्चालनमा रहेका ६ वटा होटल तथा रेष्टुरेन्टले खाद्य सुरक्षा तथा स्वच्छताका मापदण्ड पूरा गरी स्टिकर प्राप्त गरेका छन्।
अनुगमनका क्रममा ४ वटा होटलले हरियो (१ स्टार) स्टिकर प्राप्त गरेका छन्। हरियो स्टिकर प्राप्त गर्ने होटलहरूमा गुणादीस्थित रविना रेष्टुरेण्ट एण्ड खाजाघर, म्याग्दे–३ स्थित जोजोलपा हाइवे रेष्टुरेण्ट, सरिता रेष्टुरेण्ट र म्याग्दे–६ स्थित अकला हाइवे रेष्टुरेण्ट रहेका छन्।
त्यसैगरी, पहेंलो (सन्तोषजनक) स्टिकर प्राप्त गर्ने होटलहरूमा गुणादीस्थित बाराही हाइवे रेष्टुरेण्ट र थर्पुस्थित होटेल स्काइ इन रहेका छन्।
संयुक्त अनुगमन टोलीले खाद्य सामग्रीको भण्डारण, पकाउने प्रक्रिया, सरसफाइ अवस्था, भान्सा व्यवस्थापन तथा कर्मचारीको व्यक्तिगत स्वच्छताको अवस्था अवलोकन गरेको खाद्य डिभिजन कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिए । मापदण्ड पालना गर्ने होटल व्यवसायीहरूलाई निरन्तर सुधार र स्तरीकरणमा लाग्न अनुरोध गरिएको छ भने अन्य होटल व्यवसायीहरूलाई तत्कालै खाद्य सुरक्षा मापदण्ड पालना गर्न सचेत गराइएको छ।
स्थानीय तहले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता अनुगमन कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने म्याग्दे गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले बताए ।