


दमौली, ८ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले युवा पलायनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ अघि बढ्न युवालाई आह्वान गरेका छन्।
“हामी विदेश जाने पुस्ता होइन, नेपालमै बाँच्ने र बदल्ने पुस्ता बन्न चाहन्छौं,” उनले भने।
उनले नेपालले आज दुई किसिमका सन्तान हुर्काइरहेको उल्लेख गरे । सार्वजनिक विद्यालयबाट निलो सर्ट लगाएर पढेका युवा खाडी मुलुकतर्फ श्रम बेच्न बाध्य छन् भने बोर्डिङ विद्यालयबाट टाइ लगाएर अध्ययन गरेका युवा युरोप वा अस्ट्रेलियातर्फ सीप बेच्न पुगिरहेका छन्। “फरक गन्तव्य भए पनि दुवैले बेच्ने भनेको आफ्नै युवावस्था हो,” रानाको भनाइ छ।
उनका अनुसार गाउँहरू खाली हुँदै गएका छन्, चाडपर्वहरू फिका बन्दै गएका छन् र बाबुआमाको आँखामा सन्तानको प्रतीक्षा मात्र बाँकी छ। उनले यस अवस्थालाई केवल ‘ब्रेन ड्रेन’ नभई देशको भविष्य नै पलायन भइरहेको अवस्थाका रूपमा व्याख्या गरे।
रानाले स्वदेशमै रोजगारी सिर्जना, कृषि, पर्यटन र साना उद्यम प्रवर्द्धनमार्फत युवालाई अवसर दिनुपर्नेमा जोड दिँदै तनहुँ–१ लाई परिवर्तनको आधार क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।