


दमौली, ८ फागुन । तनहुँ-१ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले ‘तनहुँ: राष्ट्रिय अर्थतन्त्रको मजबुत हिस्सा’ भन्ने नारासहित समग्र विकासका सात प्राथमिकता सार्वजनिक गरेका छन्।
उनले पहिलो प्राथमिकतामा कनेक्टिभिटी र पूर्वाधार सुदृढीकरणलाई राख्दै सडक, पुल तथा यातायात सञ्जालको स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कृषि, पशुपालन र सिँचाइमार्फत ग्रामीण अर्थतन्त्रको पुनरुत्थान दोस्रो एजेन्डा रहेको उनको भनाइ छ।
त्यस्तै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा गुणस्तरीय सामाजिक लगानी वृद्धि गर्ने, निजी क्षेत्रको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने तथा आर्थिक वृद्धिका नयाँ क्षेत्र पहिचान गर्ने योजना उनले अघि सारेका छन्।
सांस्कृतिक सम्पदाको संरक्षणलाई राष्ट्रिय एकताको सूत्रका रूपमा अगाडि बढाउने, व्यवस्थित आवास तथा शहरी विकासलाई प्राथमिकता दिने र प्रवासी नेपाली तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउने उनको अर्को प्रतिबद्धता छ।
डा. वाग्लेले तनहुँ–१ लाई आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने लक्ष्यसहित मतदातामाझ घरदैलो अभियान तीव्र बनाएका छन्। उनले समृद्ध तनहुँ निर्माणका लागि नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।
