


दमौली, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह शुक्रबार दमौली आउने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा स्थगित भयो ।
दमौलीमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापति एवं तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्ले तथा चितवन–३ का उम्मेदवार सोविता गौतम सहभागी भएका थिए। तर साहको अनुपस्थितिले कार्यक्रमस्थलमा केही अन्योल सिर्जना भएको थियो।
रास्वपा तनहुँका सभापति विश्व बास्तोलाले साहको अनुपस्थितिबारे स्पष्ट पार्दै स्वास्थ्य समस्याका कारण आउन नसक्नुभएको बताए। “अन्य कुनै कारण होइन, स्वास्थ्यकै कारणले उहाँ आउन नसक्नुभएको हो,” बास्तोलाले भने।
बालेन्द्रलाई पार्टीमा भित्र्याउन डा. स्वर्णिम वाग्लेको प्रमुख भूमिका रहेको बताउँदै वाग्लेले भने, ‘स्वर्णिम डाक्टरसाबको प्रचारमा आउने इच्छा बालेन्द्रले राख्नुभएको थियो । देशभर प्रचारप्रसारमा हिँड्दा स्वास्थ्यमा समस्या आएका कारण आउन सक्नुभएन ।’