


काठमाडौ, २६ फागुन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादको करिब २० घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले धन्यवाद दिएका छन्।
रास्वपा सभापति रवि लामिछाने र बालेनसँग टेलिफोन संवाद भएको पुष्टि मोदीले सोमबार नै गरिसकेका छन् । त्यसलगत्तै रविले ट्विट गर्दै मोदीसँग विभिन्न चार प्रमुख विषय उठाएको पनि बताएका छन्।
तर भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेन्द्रले बल्ल मंगलबार साँझ सवा ६ बजे मोदीलाई ट्विटमा मेन्सन गर्दै जवाफ फर्काएका हुन् । उनले मोदीलाई मेन्सन गर्दै टेलिफोन संवादका लागि धन्यवाद दिएका छन् ।
‘धन्यवाद छ, शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू’, उनले भने, ‘नेपाल–भारत विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।’
बालेन्द्रले मोदीसँग के के कुराकानी भयो भन्ने केही पनि खुलाएका छैनन् । बरू उनले लगातार दोस्रो पटक टी-२० क्रिकेट विश्वकपको उपाधि जितेको भन्दै बधाई दिएका छन् ।