


काठमाडाै, ३ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन र विकास निर्माणको सन्दर्भमा संघीय सरकार प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने बताएका छन् ।
प्रचण्ड जनमतसहित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)को स्थानीय तह र प्रदेशमा संरचना नभए पनि जहाँ जुन पार्टीका प्रतिनिहरूले नेतृत्व गरिरहेका छन् उहाँहरूसँगै मिलेर काम गर्ने नीति रहेको उनले बताए ।
अर्थमन्त्री वाग्लेले भने, ‘प्रदेश र स्थानीय तहमा हाम्रो नेतृत्व छैन, तपाईंहरूसँगै मिलेर काम गर्ने हो । विपक्षी पार्टीहरूले तपाईंहरूले नै राम्रो काममा सरकारलाई सहयोग गर्छौँ भनिरहनु भएको छ । हामी केही गर्न चाहन्छौँ, हामीलाई साथ दिनुहोस् ।’
बजेट निर्माणको सन्दर्भमा बिहीबार सिंहदरबारमा अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा पालिका तथा प्रदेश सरकारका प्रतिनिधिहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । ‘बजेटको सिलिङ घटेको छ, १८९० अर्बभित्र काम गर्नुपर्ने बाध्यता छ । तर पनि ढुक्क हुनुहोस् संघीय सरकारले पालिकातर्फ जाने बजेट, वित्तीय हस्तान्तरणमा कम गर्दैन’ अर्थमन्त्री वाग्लेले भने, ‘सशर्त अनुदानको सवालमा अब संघीय सरकारले काम गर्नै नसक्ने गरी सर्तहरू लगाउँदैन । आवश्यकता र ओैचित्यका आधारमा सबै प्रदेश र स्थानीय पालिकाहरूमा न्यायोचित रूपमा स्रोत तथा साधनको वितरण हुन्छ ।’