


काठमाडौ, ५ वैशाख । नेपाली कांग्रेसमा देखिएको विशेष महाधिवेशनसम्बन्धी विवादमा सम्मानित सर्वोच्च अदालतले टुङ्गो लगाएपछि अब पार्टीभित्रको ध्यान एकतामा केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ। केन्द्रीय सदस्य प्रकाश पन्थले अदालतको निर्णयलाई स्वीकार गर्दै अबको बहस ‘कसरी अझ एकताबद्ध हुने’ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्।
उनले पार्टीभित्रका आन्तरिक कुण्ठा, आग्रह र पूर्वाग्रह त्याग्दै धैर्यता, संयम, सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। वर्तमान परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन सबै पक्षबीच आपसी समझदारी अपरिहार्य रहेको उनको भनाइ छ।
पन्थले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र सुदृढ हुने, नागरिक अधिकार सुरक्षित रहने र संकटका बेला देशले सही निकास पाउने उल्लेख गर्दै इतिहासले पनि यही तथ्य प्रमाणित गरेको बताएका छन्।
उनले व्यक्ति होइन नीति, विभाजन होइन एकता भन्ने मूल मन्त्रका साथ सबैलाई सधैं सँगै अघि बढ्न आह्वान गरेका छन्।