गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८३, शुक्रबार

    दमौली, २५ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । निकट भविष्यमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरुष टिम छनोट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो ।

    व्यास नगरपालिका–३ खुल्ला मैदानमा प्रतियाेगिता आयाेजना हुँदैछ । प्रतियोगितामा सहभागी हुनका लागि गण्डकी प्रदेशका ११ वटा जिल्लाबाट महिला तथा पुरुष खेलाडी दमौली आइपुगेका छन् । त्यस्तै मनाङबाट भने पुरुष खेलाडीको सहभागिता नरहने र महिलाको मात्रै सहभागिता रहने समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।

    छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा महिला पुरुष गरी २४० खेलाडी, २० प्रशिक्षक र २० अफिसियल उपस्थित हुनेछन् ।

    पाण्डेले प्रतियोगितालाई गण्डकी प्रदेशका सबै जिल्लाका खेलाडीहरूको क्षमता उजागर गर्ने, उनीहरूबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने एउटा साझा अभियानका रूपमा लिएको उल्लेख गरे ।

    पछिल्लो समय भलिबलमा युवा पुस्ताको आकर्षण बढ्दै गए पनि उनीहरूको प्रतिभालाई सही मञ्चमा पु¥याउने संरचनागत अवसर अझै पर्याप्त छैन । “हामीले धेरै प्रतिभाशाली खेलाडीहरू गाउँगाउँमा देखिरहेका छौँ । उनीहरूलाई नियमित प्रतियोगिता, उचित प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरणको अभाव छ”, उनले भने “त्यसैले यो प्रतियोगिता उनीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर हो, जहाँ उनीहरूले आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् ।”