


दमौली, ९ जेठ । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले व्यास नगरपालिकाले उत्पादन केन्द्रित, जनमुखी र दीर्घकालीन सोचसहितको बजेट ल्याउनुपर्ने बताएका छन् ।
व्यास नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा योजना तर्जुमा सम्बन्धी शुक्रबार आयोजना गरेको परामर्श बैठकमा बाेल्दै सांसद न्यौपानेले जनताको करबाट सङ्कलित बजेट जनहितमै खर्च हुनुपर्ने बताए । उनले खर्च धान्ने मात्रै होइन, भविष्य निर्माण गर्ने खालको बजेट आवश्यक रहेको उल्लेख गरे ।
“व्यास नगरपालिकाले आफ्नै ब्राण्डका उत्पादन विकास गर्नुपर्छ,” उनले भने, “टुक्रे विकासको अन्त्य गरेर ठूला तथा प्रभावकारी योजनामा लगानी गर्न आवश्यक छ ।” उनले बजेट जनमुखी, उत्पादनमुखी तथा पारदर्शी हुनुपर्नेमा जोड दिँदै स्थानीय उत्पादन, रोजगार सिर्जना र आर्थिक गतिविधि बढाउने योजनालाई प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले दीर्घकालीन योजनामा आधारित भएर बजेट लगानी गर्नुपर्ने धारणा राखे ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बैठकमा आएका सबै सुझावलाई मनन गर्दै आगामी बजेट निर्माण गरिने बताए । उनले नगरको आवश्यकता, जनताको अपेक्षा र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरे ।