


दमौली, १० जेठ ।तनहुँको दमौलीस्थित सफासडक क्षेत्रमा पार्किङ निषेध गर्ने व्यास नगरपालिकाको निर्णयविरुद्ध आज बिहान स्थानीय व्यापारीहरू विरोधमा उत्रिएका छन् । नगरपालिकाले आजदेखि लागू हुने गरी सफासडक क्षेत्रमा कुनै पनि सवारी साधन रोक्न नपाइने व्यवस्था गरेपछि व्यवसायीहरूले त्यसको विरोध जनाएका हुन् ।
नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै सफासडकमा पार्किङ निषेधको निर्णय गरेको हो । साथै दुर्गा मन्दिर लाइन, तरकारी लाइन, कालिका मार्ग र डाङ्ग्रेखोल्सी क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था लागू गरिएको जनाएको छ ।
तर, व्यवसायीहरूले भने पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् । विरोध कार्यक्रममा सहभागी व्यापारीहरूले ग्राहकलाई सवारी साधन रोक्ने स्थान नहुँदा बजार सुनसान हुने र व्यवसाय धरापमा पर्ने चिन्ता व्यक्त गरेका छन् ।
व्यवसायी विन्दुकुमार श्रेष्ठले पार्किङ निषेधको निर्णयका कारण व्यापारीहरू मर्कामा पर्ने अवस्था सिर्जना भएको बताए । उनले ट्राफिक व्यवस्थापन आवश्यक भए पनि व्यवसाय सञ्चालनलाई असर पर्ने गरी गरिएको निर्णय सच्याउन नगरपालिकासँग आग्रह गरे ।