तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा शुक्रबार ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब सङ्कलनको रिपोर्ट अनुसार गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमितमध्ये दुई स्वास्थ्यकर्मी कोटा स्वास्थ्यचौकीमा कार्यरत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । ती स्वास्थ्यकर्मीमध्ये एक महिला र एक पुरुष हुन् । उनीहरु दुवै भरतपुर निवासी रहेको र भरतपुरकै आइसोलेशनमा राखिएको बुढाथोकीले जानकारी दिनुभयो ।
बाँकी पाँच जना भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् । पाँच जना नै देवघाट गाउँपालिका–५ निवासी रहेको बुढाथोकीले जानकारी दिनुभयो । उहाँहरु सबैलाई होम आइसोलेशनमै राखिनेछ । गाउँपालिकाले १४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।
काेराेना सङक्रमतिमध्ये देवघाट गाउँपालिका वडा नं ५ का ५०, ८१, ५१, ३१ वर्षीया महिला र ३१, ७८, ४२ वर्षीय पुरुष हुन् । त्यसमध्ये ३१ वर्षीया महिला र ४२ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेकाे गाउँपालिकाले जनाएकाे छ ।
यसैबीच सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि देवघाट गाउँपालिकाले गाउँपालिकाको कार्यालय तथा वडा नं १ र ५ को कार्यालय बन्द रहने भएको छ । भदौ १९ गते शुक्रबारदेखि भदौ २४ गतेसम्मका लागि गाउँपालिका, वडा नं १ र ५ का वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।
समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न र अत्यावश्यक काममा हिँडडुल गर्दा मास्क लगाउन आग्रह गरिएको छ ।
हाल चलिरहेको पितृपुजन (सोह्र श्राद्ध) कार्यमा आफन्त, छरछिमेकी, बन्धुबान्धवलाई आमन्त्रण नगरी एकाघरका सदस्यमात्र सहभागी हुन, सकेसम्म पुरोहितलाई घर नबोलाई विद्युतीय तरिकाले तथा अन्य वैकल्पिक माध्यमबाट सोह्र श्राद्ध गर्न गाउँपालिकाले जनाएको छ ।