


दमौली, १७ जेठ । तनहुँमा शनिबार एकैदिन तीन फरक स्थानमा कार दुर्घटना भएका छन्। मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गतका विभिन्न स्थानमा भएका दुर्घटनाले चार लेन सडक विस्तारसँगै सवारी दुर्घटनाको जोखिम बढ्दै गएको संकेत गरेको छ।
व्यास नगरपालिका–४ स्थित भोर्लेटार चोक मा एउटा कार दुर्घटनामा परेको छ। त्यस्तै व्यास नगरपालिका–१ तालघरे क्षेत्रमा अर्को कार सडकको बीचभागमा राखिएको डिभाइडरमा ठोक्किएको छ। त्यसैगरी शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार मा एउटा कार सडकबाट चिप्लिएर नालामा खसेको छ।
तीनवटै दुर्घटनामा सवारी साधनमा क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन । दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा सम्बन्धित निकायको सहयोगमा सवारी साधन हटाउने तथा यातायात सञ्चालनलाई सहज बनाउने काम गरिएको थियो।
मुग्लिन–पोखरा सडकखण्ड हाल चार लेनमा विस्तार भएका कारण सडक फराकिलो बनेको छ। फराकिलो सडकमा चालकहरूले सवारीको गति अत्यधिक बढाउने, ट्राफिक नियमको पालना नगर्ने तथा असावधानीपूर्वक सवारी चलाउने प्रवृत्ति बढ्दा दुर्घटनाको जोखिम समेत बढेको सरोकारवालाहरूको भनाइ छ।
विशेषगरी नयाँ बनेका सडक खण्डमा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासनको बेवास्ता गर्ने तथा ओभरटेक गर्ने क्रममा दुर्घटना हुने गरेका उदाहरणहरू बढिरहेका छन्। सडक विस्तारसँगै सुरक्षा व्यवस्थापन, ट्राफिक संकेत, गति नियन्त्रण तथा चालक सचेतनामा पर्याप्त ध्यान नदिइए दुर्घटनाको संख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीयवासीले सडकको गुणस्तर सुधारसँगै सवारी चालकको व्यवहारमा पनि सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार फराकिलो सडकले यात्रा सहज बनाएको भए पनि अत्यधिक गतिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ।
प्रहरीले चालकहरूलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ।