


दमाैली २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते दमौलीमा हुने भएको छ। अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्व चयन गरिने तयारी भइरहेका बेला जिल्ला सभापतिको पदका लागि आकांक्षीहरूको सक्रियता बढेको छ।
जिल्ला सभापति पदका लागि हालका सभापति विश्व बास्तोला र विष्णु पन्त प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। दुवै नेताले पार्टी संगठन विस्तार तथा जिल्लामा रास्वपाको प्रभाव बढाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै नेतृत्वका लागि तयारी गरिरहेका छन्। यद्यपि, पार्टीभित्रको वर्तमान अवस्था, संगठनमा सक्रियता र कार्यकर्तामाझको समर्थनका आधारमा विश्व बास्तोला सभापतिको बलियो उम्मेदवारका रूपमा हेरिएका छन्।
अधिवेशनको तयारी अन्तर्गत रास्वपाले तनहुँका १० स्थानीय तहमध्ये ९ वटामा पालिका अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। जिल्लाको ऋषिङ गाउँपालिकामा भने विभिन्न कारणले अधिवेशन सम्पन्न हुन नसकेको पार्टीले जनाएको छ।

पालिका अधिवेशनअन्तर्गत अधिकांश स्थानीय तहमा नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। तर व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अपनाइएको थियो। ती दुई पालिकामा उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएपछि मतदानमार्फत नेतृत्व चयन गरिएको हो। अन्य पालिकाहरूमा भने सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयन भएको पार्टीले जनाएको छ।
रास्वपाले जिल्ला अधिवेशनलाई संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्वमार्फत पार्टीलाई थप सक्रिय बनाउने अवसरका रूपमा लिएको छ।
पछिल्लो समय तनहुँमा संगठन विस्तारलाई तीव्रता दिएको रास्वपाले पालिका तहदेखि जिल्ला तहसम्म नयाँ नेतृत्व चयन गर्दै पार्टी संरचनालाई व्यवस्थित बनाउने अभियान सञ्चालन गरिरहेको छ। यही अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको प्रथम जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वले आगामी दिनमा जिल्लामा पार्टीको दिशा र संगठनात्मक गतिविधि तय गर्नेछ।