


दमौली, २५ जेठ । शुक्लागण्डकी नगरपालिकाले जटिल प्रकृतिको कार्य उपभोक्ता समितिबाट गराएर २३ लाख भन्दा बढी अनियमितता गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा उक्त कार्यमा २३ लाख २९ हजार तीन सय १६ अनियमितता भएको जनाइएको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार उपभोक्ता समितिहरुलाई मेशिन, औजार उपकरणहरुको आवश्यक नपर्ने, श्रममूलक कार्य तथा रोजगारी सिर्जना हुने तथा निर्माण पश्चात् उपभोक्ता समितिलाई हस्तान्तरण गर्न सकिने प्रकृतिका कार्यहरुको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ ।

पालिकाले सडक कालोपत्र लगायतका जटिल प्राविधिक पक्ष समावेश हुने पूर्वाधार संरचना निर्माण कार्य समेत उपभोक्ता समितिबाट गराएको प्रतिवेदनमा उल्लेख छ । पालिकाले ढोरवाराही मोटरमार्ग मर्मत कार्यका लागि रु २४ लाख ४९ को लागत अनुमान बनाई रु सात लाख २० हजार नगरपालिकाले बेहोर्ने र बाँकी रु १६ लाख ८० हजार सडक बोर्डबाट व्यहोर्ने गरी लागत अनुमान स्वीकृत गरेकामा सो कालोपत्र सडक मर्मत गर्न साँखे टोल विकास संस्थासँग सो संस्थाको जनसहभागिता बिना सबै रकम भुक्तानी गर्ने गरी सम्झौता गरेको थियो ।
सार्वजनिक खरिद ऐन तथा नियमले जनसहभागिता समावेश भएमा निर्मित संरचनामा उपभोक्ताको अपनत्व हुने र सञ्चालन तथा संरक्षणका कार्यमा समेत सहज हुने उद्धेश्यका साथ उपभोक्ता समितिबाट कार्य गराउने गरी व्यवस्था गरेकामा निजको जनसहभागिता बिना उपभोक्ता समितिबाट निर्माण कार्य गराउनु कानुन सम्मत नभएको उललेख छ ।