


दमौली, २६ जेठ । व्यास नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूको आयोजनामा सोमबार नगरभित्रका विभिन्न विद्यालयहरूमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
दुम्सिचौर शहरी स्वास्थ्य केन्द्र, व्यास–१० ले भानु माध्यमिक विद्यालयमा, रानीटार शहरी स्वास्थ्य केन्द्र, व्यास–५ ले जनजुक्त शाही माध्यमिक विद्यालय (रानीटार) मा, पतेनी आधारभूत स्वास्थ्य केन्द्र, व्यास–५ ले उदय माध्यमिक विद्यालय (पतेनी) मा तथा स्याम्घा स्वास्थ्य चौकी, व्यास–६ ले इन्दु माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरेका हुन्।
कार्यक्रममा किशोरकिशोरीहरूको शारीरिक तथा मानसिक विकास, यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी व्यवस्थापन, सरसफाइ, पोषण, बालविवाह न्यूनीकरण, किशोरमैत्री स्वास्थ्य सेवा तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
स्वास्थ्यकर्मीहरूले किशोरावस्थामा देखिने शारीरिक तथा मानसिक परिवर्तनबारे सचेत गराउँदै स्वास्थ्यसम्बन्धी सही जानकारी र सकारात्मक व्यवहार अपनाउन आग्रह गरेका थिए।