‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८३, शनिबार

    दमौली, १३ असार । यहाँको बन्दीपुर गाउँपालिकाले हेल्लो अध्यक्ष कार्यक्रममार्फत् जनतासँग प्रत्यक्ष संवाद गर्ने जनाएको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा सुशासन, जनउत्तरदायी सेवा प्रवाह र नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको हो ।

    गाउँपालिकाले जनताका गुनासा, सुझाव र समस्यालाई सहज रूपमा सम्बोधन गर्न ‘हेल्लो अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले स्थानीय सरकारलाई नागरिकमैत्री, जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए । उनले गाउँपालिकाको विकास यात्रामा नागरिकको प्रत्यक्ष सहभागिता र सुझावलाई महत्वपूर्ण आधारका रूपमा लिइएको बताए ।

    अध्यक्ष थापाका अनुसार ‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत गाउँपालिकावासीले आफ्ना गुनासा, समस्या, सुझाव तथा जिज्ञासा प्रत्यक्ष रूपमा गाउँपालिका अध्यक्षसम्म पु¥याउन सक्नेछन् । सेवा प्रवाहमा देखिएका समस्या, विकास निर्माणका काम, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारसँग सम्बन्धित विषयमा नागरिकले सहज रूपमा आफ्नो धारणा राख्न सक्ने व्यवस्था गरिने उनले बताए।

    उनले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउँदै जनताको आवाजलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियासँग जोड्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । “स्थानीय सरकार जनताकै घरदैलोको सरकार हो”, थापाले भने, “जनताका गुनासा र सुझाव सुन्ने तथा समाधान गर्ने दायित्व हाम्रो हो । त्यसैले नागरिकसँग प्रत्यक्ष संवाद बढाउन ‘हेल्लो अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।”

    नीति तथा कार्यक्रममा सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार तथा प्रविधिमैत्री प्रशासनलाई पनि प्राथमिकता दिइएको छ । गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नागरिकले प्राप्त गर्ने सेवामा सहजता ल्याउन डिजिटल प्रविधिको प्रयोग बढाइने तथा प्रशासनिक प्रक्रियालाई थप व्यवस्थित बनाइने जनाइएको छ । गाउँपालिकाले आगामी वर्ष कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।

    स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै दिगो विकासको आधार तयार गर्ने नीति अवलम्बन गरिएको अध्यक्ष थापाले बताए । पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पर्यटन पूर्वाधार विस्तार, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन तथा पर्यटकमैत्री वातावरण निर्माणका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    पर्यटन क्षेत्रको विकासबाट स्थानीय रोजगारी र आयआर्जन बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ । अध्यक्ष थापाले गाउँपालिकाको समग्र विकासमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकको साझा सहकार्य आवश्यक रहेको उल्लेख गरे ।