


दमौली, १४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने भारतीय सवारी चालकलाई कानुनी कारबाही गरेको छ।
छिमेकी मित्रराष्ट्र भारतबाट नेपाल प्रवेश गर्ने केही सवारी साधनका चालकले ट्राफिक नियम उल्लंघन गर्ने तथा त्यसबाट दुर्घटनाको जोखिम बढ्ने गरेको भन्ने व्यापक जनगुनासो प्राप्त भएपछि कार्यालयले भारतीय नम्बर प्लेटका सवारी साधनलाई लक्षित गरी विशेष मापसे जाँच अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
अभियानका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाइरहेका भारतीय चालकहरूलाई ट्राफिक ऐन तथा प्रचलित कानुन बमोजिम कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
कार्यालयका अनुसार सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा नेपालका सडकमा सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी सबै सवारी साधनमाथि समान रूपमा ट्राफिक निगरानी र चेकजाँचलाई निरन्तरता दिइनेछ। साथै, सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन प्रहरीले आग्रह गरेको छ।