छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरी धार्मिक वन हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २० असार २०८३, आईतवार

    दमौली, २१ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर परिसरमा रहेको सामुदायिक वनलाई धार्मिक वनको रुपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले धार्मिक पर्यटनको विकास, वन संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्धेश्यका साथ प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी मन्दिर वरपर रहेको ७.२१ हेक्टर वन क्षेत्रलाई ‘छिम्केश्वरी धार्मिक वन’ का रूपमा हस्तान्तरण गरेको हो ।

    यससँगै छिम्केश्वरी धार्मिक वन तनहुँ जिल्लाको १२औँ धार्मिक वन बनेको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शनिबार आयोजित कार्यक्रममा उक्त वन क्षेत्र छिम्केश्वरी पर्यटन समितिलाई हस्तान्तरण गरिएको हो ।

    डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले समितिका अध्यक्ष कृष्ण तामाङलाई धार्मिक वन व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्दै धार्मिक वनको अवधारणाले धार्मिक आस्था, प्राकृतिक सम्पदा र वातावरण संरक्षणलाई एकै सूत्रमा बाँध्ने बताए ।

    सोही अवसरमा करिब तीन सय वटा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको थियो । मन्दिर परिसरलाई थप हराभरा, आकर्षक र पर्यटकमैत्री बनाउने उद्धेश्यले वृक्षारोपण गरिएको हो । रोपिएका बिरुवाको संरक्षण, नियमित स्याहार तथा दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय समुदाय, पर्यटन समिति र सम्बन्धित निकायले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    छिम्केश्वरी धार्मिक वन व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेपछि पर्यटन समितिका अध्यक्ष कृष्ण तामाङले धार्मिक वन हस्तान्तरणले स्थानीयवासीमा थप जिम्मेवारी बढाएको उल्लेख गर्दै वन संरक्षण, सरसफाइ, वृक्षारोपण तथा धार्मिक पर्यटन प्रवद्र्धनका गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए । उनले छिम्केश्वरीलाई प्राकृतिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

    छिम्केश्वरी मन्दिर तनहुँ जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित छ । यहाँ नेपालका विभिन्न जिल्लाबाट हजारौँ भक्तजन तथा आन्तरिक पर्यटक पुग्ने गर्दछन् । छिम्केश्वरी तनहुँ जिल्लाको सबैभन्दा उच्च स्थानमा पर्दछ । यो ठाउँ समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ ।