


दमाैली २५ असार । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री–वितरणसम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न सबैलाई आग्रह गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन पूर्ण रूपमा निषेध रहेको जनाएको छ। साथै घर तथा निजी सवारीसाधनभित्र पनि अरूलाई असर पर्ने गरी धूम्रपान नगर्न अनुरोध गरिएको छ।
सूचनाअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वा वितरण गर्न, गर्भवती महिलालाई बिक्री, वितरण वा निःशुल्क उपलब्ध गराउन तथा चुरोट, बिँडी वा सिगार एक–एक वटा (फुटकर) बिक्री गर्न पाइँदैन।
त्यस्तै, सुर्तीजन्य पदार्थ बिक्री गर्ने स्थानमा आकर्षक सजावट वा प्रदर्शन गर्न, इन्टरनेट तथा अनलाइन माध्यमबाट बिक्री–वितरण गर्न र ब्रान्डको प्रचारप्रसार तथा विज्ञापन गर्न पनि रोक लगाइएको छ।

कार्यालयले सुर्तीजन्य पदार्थ बिक्री–वितरणका लागि सम्बन्धित निकायबाट अनुमति पत्र लिन अनिवार्य रहेको जनाएको छ।
यसैगरी, शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्र रहेका घर वा पसलबाट सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने सूचनामा उल्लेख छ।
प्रदेश जनस्वास्थ्य कार्यालयले यी व्यवस्थाको उल्लङ्घन गर्नु कानुनबमोजिम दण्डनीय अपराध भएकाले कसैले पनि यस्ता कार्य नगर्न आग्रह गर्दै उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।