मुख्यमन्त्री पाण्डेद्वारा दुई पालिका जोड्ने पुल उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुख्यमन्त्री पाण्डेद्वारा दुई पालिका जोड्ने पुल उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८३, सोमबार

    दमौली, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँका दुई पालिका जोड्ने पुलको आज उद्घाटन गरेका छन् । बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ चुँदीखोलामाथि निर्माण सम्पन्न भएको पुलको मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन् ।

    पूर्वाधार विकास कार्यालय तनहुँमार्फत् निर्धारित समयभन्दा सात महिना अगावै पुल निर्माण सम्पन्न भएको हो ।

    पुल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पुल निर्माणसँगै स्थानीयवासीको दैनिक आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    उनले गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगावै सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको उल्लेख गरे ।

    “यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समयअघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ ।”

    मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले नागरिकको दैनिक जीवन सहज बनाउने, दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दावी गरे ।

    उनले यस्ता पुल र सडक निर्माणले गाउँ–सहरको दूरी घटाउने मात्र नभई स्थानीय उत्पादनको बजारीकरण, कृषि व्यवसायको विस्तार, पर्यटन प्रवद्र्धन तथा सेवामा नागरिकको पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

    चुँदी खोला मोटरेबल पुल सञ्चालनमा आएपछि भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या समाधान हुने अपेक्षा गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।