


दमौली, १० साउन । भिम्बाद मई आमा समूह, भिमाद–६ तनहुँको पहलमा निर्माण गरिएको भिमाद नगरपालिका–७ कुनाधारास्थित चौतारा तथा भिमाद–९ धन्दुरस्थित पर्यटकीय सिद्ध गुफा परिसरमा निर्माण गरिएको बहुउद्देश्यीय एककोठे भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ।
दुवै संरचनाको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटनपछि भवनको संरक्षण, व्यवस्थापन तथा रेखदेखको जिम्मेवारी नगरपालिकाले सम्हाल्ने गरी भिम्बाद मई आमा समूहले नगरप्रमुख सुवेदीलाई भवनको चाबी हस्तान्तरण गरेको छ।
समूहका अनुसार सर्वसाधारण यात्रु तथा स्थानीय बासिन्दालाई विश्रामस्थलको सुविधा उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०७६/०७७ मा भिमाद–७ कुनाधारामा करिब ३ लाख ७५ हजार रुपैयाँ लागतमा चौतारा निर्माण गरिएको हो। त्यसैगरी, पर्यटकीय गन्तव्य धन्दुरस्थित सिद्ध गुफा क्षेत्रमा आगन्तुक तथा धार्मिक पर्यटकलाई लक्षित गर्दै करिब ८ लाख रुपैयाँ लागतमा बहुउद्देश्यीय एककोठे भवन निर्माण गरिएको जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सुवेदीले भिम्बाद मई आमा समूहले समाजका लागि दीर्घकालसम्म उपयोगी रहने संरचना निर्माण गरेर अनुकरणीय सामाजिक योगदान दिएको बताए। उनले आमा समूहहरू केवल सामाजिक तथा सांस्कृतिक गतिविधिमा सीमित नरही सार्वजनिक हितका पूर्वाधार निर्माणमा अग्रसर हुनु सकारात्मक उदाहरण भएको उल्लेख गरे।
सुवेदीले पछिल्लो समय धन्दुर सिद्ध गुफाको विकास र प्रवर्द्धन अपेक्षित रूपमा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले गुफा क्षेत्रमा पार्किङ, शौचालय, खानेपानी, पिकनिक स्थल, सिद्ध बाराही मन्दिरलगायत आवश्यक पूर्वाधार निर्माण भइसके पनि प्रभावकारी प्रचार–प्रसार र विकास समिति निष्क्रिय हुँदा यसको पर्यटन सम्भावना ओझेलमा परेको बताए।
उनले भिजिट नेपाल २०२० अभियानअन्तर्गत सिद्ध गुफा नेपालका १०० प्रमुख पर्यटन गन्तव्यमध्ये छनोट भएको स्मरण गराउँदै यसको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा स्थानीय समुदाय, सरोकारवाला निकाय र नगरपालिकाबीच समन्वय आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा बोल्दै भिमाद नगरपालिका–७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले भिम्बाद मई आमा समूहले सार्वजनिक हितलाई केन्द्रमा राखेर गरेको कार्य प्रशंसनीय रहेको बताए। यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै उनले समूहलाई धन्यवाद व्यक्त गरे।
भिमाद नगरपालिका–२ का वडा अध्यक्ष दिनेश थापाले पनि आमा समूहको सक्रियताको प्रशंसा गर्दै समाज विकासमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताए। आगामी दिनमा यस्ता रचनात्मक तथा सामाजिक अभियानमा वडा कार्यालयबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।
भिम्बाद मई आमा समूहकी अध्यक्ष बिहिसरा रानाले समूहको आफ्नै कोष, सदस्यहरूको योगदान तथा विभिन्न सहयोगी मनकारी व्यक्तिहरूको आर्थिक सहयोगबाट चौतारा र बहुउद्देश्यीय भवन निर्माण गरिएको जानकारी दिइन्। उनले महिलाहरू एकताबद्ध भए असम्भवजस्तो देखिने काम पनि सफलतापूर्वक सम्पन्न गर्न सकिने उल्लेख गर्दै आगामी दिनमा पनि समाज र पर्यटन प्रवर्द्धनका क्षेत्रमा समूह सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। साथै निर्माण कार्यमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगदाता, सदस्य तथा स्थानीयवासीप्रति उनले आभार व्यक्त गरिन्।
कार्यक्रममा जनप्रतिनिधि, सिद्ध गुफा विकास समितिका पूर्वपदाधिकारी, विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, सहयोगदाता र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको समूहकी सचिव सुनिता मास्की रानाले जानकारी दिइन्।