तनहुँ/तनहुँको विभिन्न भागमा रोपिसकेको धान बाढीले बगाएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले खोलामा आएको बाढीका कारण धान खेतमा क्षति पुगेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
खोला आसपास रोपाइँ गरिएका धान खेतमा बाढी पसेर क्षति पुगेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीले म्याग्दे गाउँपालिका अन्तर्गतका खोला आसपासका अधिकांश धानखेतमा बाढीले क्षति पु¥याएको बताउनुभयो । “आइतबार रातिको वर्षाका कारण आएको बाढीले तनहुँमा रोपाइँ भइसकेको खेतमा क्षति पु¥याएको प्रारम्भिक जानकारी आएको छ, म्याग्दे गाउँपालिकाका खोला आसपासका अधिकांश खेत अनुगमन पनि गरियो, अन्य स्थानको अनुगमन भइरहेको छ,” तिवारीले भन्नुभयो ।
उहाँका अनुसार व्यास नगरपालिका–५ स्थित साँगेखोला आसपासका धानखेतमा पनि बाढीले क्षति पुगेको छ । त्यस्तै भानु नगरपालिकाको चुँदी खोला आसपास, भीमादको छिब्दीखोला आसपासका धानखेतमा पनि बाढीले क्षति पु¥याएको जानकारी आएको तिवारीले जानकारी दिनुभयो । “बाढीले ठूलै क्षति पु¥याएको अनुमान गरिएको छ, विस्तृत विवरण सङ्कलन गर्दैछौ,” उहाँले भन्नुभयो । तिवारीका अनुसार खोला आसपासका दश मिटरसम्मका खेतमा बाढी पसेको छ ।
भीमाद नगरपालिका–७ स्थित छिब्दीखोलामा आएको बाढीले करीब १५ रोपनी धानखेत बगाएको स्थानीयवासी सूर्यप्रसाद रिजालले जानकारी दिनुभयो । भर्खर रोपेर सकिएको खेत बाढीले बगाएको उहाँले बताउनुभयो । तनहुँमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा अधिकांश ठाउँमा रोपाइँ सकिएको भएपनि बाढीले क्षति पुगेपछि कृषक निराश बनेका छन् । कृषि ज्ञानका अनुसार केन्द्रका जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे र ३ हजार ५ सय हेक्टरमा चैते धान खेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका कृषकहरुले सावित्री, मकवानपुरे लगायतका उन्नत जातका धान खेती लगाउने गरेका छन् ।