नेपाल हिन्दुराष्ट्र घोषणा हुनुपर्छ : नेता भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    नेपाल हिन्दुराष्ट्र घोषणा हुनुपर्छ : नेता भण्डारी

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, आईतवार

    तनहुँ/नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सी भतेरीमा गौमाता संरक्षण केन्द्रको ट्रष्ट भवन आइतबार शिलान्यास गर्दै नेता भण्डारीले नेपाल र नेपालीको पहिचानका लागि नेपाल हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिनुभयो ।

    हिन्दुराष्ट्रको विषयमा नेपाली काङ्ग्रेस पार्टीले पनि गम्भीरतापूर्वक लिनुपर्ने नेता भण्डारीको भनाई थियो । नेपाल हिन्दु धर्मको आस्थाको केन्द्र भएकाले यस विषयमा ढिलाई गर्न नहुने नेता भण्डारीको जोड थियो ।

    छाडा रुपमा छाडिएका गाईहरुको संरक्षण गर्ने उद्देश्यसहित गौमाता संरक्षण केन्द्र स्थापना गरिएको छ । गाईहरु सुरक्षित रुपमा बस्ने व्यवस्था मिलाउन ट्रष्ट भवन निर्माण गर्न लागिएको संरक्षण समितिका संयोजक प्रजापति सापकोटाले जानकारी दिनुभयो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रु पाँच लाखको लागतमा निर्माण हुने भवनका लागि स्थानीयवासीले श्रमदान गर्नेछन् ।

    संरक्षण केन्द्रमा हाल ४२ वटा गाई रहेका छन् । गौ संरक्षण केन्द्रमा रहेका गाईहरुलाई खुवाउनका लागि वडा कार्यालयले पराल खरिदमा सहयोग गरेको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले जन्मदिन र विशेष कार्यक्रमको अवसर पारेर संरक्षण केन्द्रलाई सहयोग गर्ने गरेको उक्त वडाका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दमौलीका एक मुस्लिम युवाले समेत जन्मदिनको अवसरमा चोकर खरिदका लागि सहयोग गरेका थिए । “हिन्दु धर्मको आस्थाको रुपमा मानिने गाईलाई मुस्लिम युवाले पनि सहयोग गर्दा यसले अरुलाई पनि प्रेरणा दिएको छ,” सापकोटाले भन्नुभयो ।