तनहुँ/विसं २०७२ सालको भूकम्पले तनहुँको भानु नगरपालिका–११ निवासी जुठी दर्जीको घर भत्कियो । ऐलानी जग्गामा रहेको घर भत्किएपछि उहाँ अहिले अर्काको जग्गामा सानो टहरा बनाएर बस्दै आउनुभएको छ । आफ्नै स्वामित्वमा जग्गा नभएका कारण लाभग्राहीमा सूचीकृत भएपनि उहाँले घर बनाउन सक्नुभएन ।
आफ्नै घरमा बस्ने उहाँको चाहना अब भने पूरा हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूमिहिनलाई जग्गा खरिदका लागि रकम प्रदान गर्ने निर्णय गरेसँगै उहाँले स्थानीय अर्जुन परियारसँग चार आना जग्गा खरिद गर्नुभएको छ । “भूकम्पले घर भत्कियो, घर बनाउनका लागि आफ्नै जग्गा चाहिने रहेछ,” दर्जीले भन्नुभयो, “अब त मेरै नाममा जग्गा पाएँ, बल्ल घर बन्ने भयो ।”
भानु नगरपालिका–११ का दलबहादुर घर्तीले पनि जग्गा नभएकै कारण भूकम्पबाट भत्किएको घर पुनर्निर्माण गर्न सक्नुभएको थिएन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट रकम पाएपछि उहाँले पनि आफ्नै जग्गामा घर बनाउन पाउनुहुने भएको छ । “बसिरहेको ठाउँमा घर भत्कियो, जग्गा किन्न पैसा थिएन,” उहाँले खुशी हुँदै भन्नुभयो, “जग्गा किन्न सरकारले पैसा दिएपछि जग्गाको लालपूर्जा पाएको छु, अब घर बन्ने भयो ।”
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जिल्लाका पाँच जना भूकम्प लाभग्राहीलाई जग्गाको लालपूर्जा प्रदान गरेको छ । ऐलानी र जोखिमयुक्त ठाउँमा बसिरहेका र जग्गा नभएकालाई जग्गा प्रदान गर्ने प्राधिकरणले निर्णय गरे बमोजिम भानु नगरपालिका तीन, बन्दीपुर गाउँपालिकाका एक र आँबुखैरेनी गाउँपालिकाका एक लाभग्राहीले जग्गा पाउनुभएको छ ।
जग्गा कार्यविधि बमोजिम जग्गा खरिद गर्नका लागि अधिकतम रु दुई लाख दिने नीति बमोजिम पाँच जनालाई उक्त रकम प्रदान गरिएको इकाईका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका–११ का जुठी दर्जी, भानु नगरपालिका–११ का दलबहादुर घर्ती, भानु नगरपालिका–१० का सावित्री कुमाल, बन्दीपुर गाउँपालिका–६ का आइतमाया भुजेल र शुक्लागण्डकी नगरपालिका–१२ का विष्णुमाया कुमाललाई जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ । उहाँहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जग्गाको लालपूर्जा प्रदान गर्नुभएको थियो ।
पाँच जना लाभग्राहीले स्थानीय व्यक्तिहरुसँग जग्गा खरिद गरेका थिए । जग्गाका धनीहरुलाई पनि सोही अवसरमा रु दुई लाखको चेक हस्तान्तरण गरियो ।
जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले जग्गा नहुँदा घर बनाउन नपाएकाहरुलाई जग्गा खरिदका लागि रकम दिने सरकारको निर्णय सकारात्मक रहेको बताउनुभयो । “सरकार जनताको अभिभावक, जनताको दुःखमा राज्य छ भन्ने यो निर्णयले प्रत्याभूति गरेको छ,” वाग्लेले भन्नुभयो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले वर्षौदेखि ऐलानी जग्गामा बस्दै आएका विपन्न व्यक्तिले हातहातमै लालपूर्जा पाउनु खुशीको कुरा भएको बताउनुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत् गत आर्थिक वर्ष ०७५÷७६ मा ११ जनालाई जग्गा खरिदका लागि जनही रु दुई लाख वितरण गरिएको थियो । जिल्लामा १४ हजार ३ सय ९५ पूर्ण र १ हजार ५ सय ६८ आंशिक गरी कूल १५ हजार ९ सय ६३ लाभग्राही सूचीकृत छन् । हालसम्म ८ हजार ३ सय ८४ घर निर्माण सम्पन्न भएको इकाईले जनाएको छ ।