तनहुँ/पहिराेले अवरुद्ध रहेकाे पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड पूर्ण रुपमा सञ्चालनमा आएकाे छ । केही दिनदेखि परेकाे वर्षाका कारण मङ्गलबार बिहानैदेखि अवरुद्ध रहेकाे मुग्लिङ काेत्रे खण्ड साँझ ८ बजेबाट पूर्ण रुपमा सञ्चालनमा आएकाे हाे ।
पहिराले अवरुद्ध आँबुखैरेनी–मुग्लिङखण्ड भने १२ घण्टापछि सुचारु भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरामा पहिरा खस्दा आज बिहान ८ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । १२ घण्टाको प्रयासपछि साँझ ८ बजेदेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिकामा खसेको पहिरा दिउँसो नै हटाइएको भएपनि आँबुखैरेनीको पहिरा हटाउन समय लागेको प्रनाउ तिमिल्सिनाले बताउनुभयो ।
“दमौलीबाट जेसीभी पठाएर पहिरा हटाउनुपर्ने र आँबुखैरेनीदेखि यतापनि ठाउँ–ठाउँमा पहिरा गएकाले आँबुखैरेनी खण्ड सुचारु गराउन समय लाग्यो,” तिमिल्सिनाले भन्नुभयो, “हाल पृथ्वीराजमार्गको तनहुँ खण्ड पूर्ण रुपमा सुचारु छ ।”
यस अगाडी बिहान ८ बजेदेखि नै सडक भासिएर बन्द रहेको डुम्रे खण्ड दिउँसो २ः३० बजेबाट सुचारु भएको थियो । बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएको थियो । सडक भासिएको ठाउँभन्दा माथिपट्टिको जग्गालाई खनेर डाइभर्सन बनाएर राजमार्ग सुचारु गरिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । डाइभर्सन बनाएपनि उक्त ठाउँबाट ठूला सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको र साना सवारी साधन मात्रै सञ्चालन गराइएको श्रेष्ठले बताउनुभयो ।
“उक्त ठाउँमा ग्राभेलिङ नगरेसम्म ठूला सवारी साधन चल्न सक्दैनन्, हाललाई साना सवारीसाधन मात्रै सञ्चालन गर्न मिल्ने गरी बनाइएको छ,” उहाँले भन्नुभयो, “केही दिनमै ग्राभेलिङ गरेर सबै सवारी साधन सञ्चालन गर्न मिल्ने तयारी गरिएको छ ।”