तनहुँ/मर्मत कार्य जारी रहेर शनिबार बिहानैदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड राति ११ः३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । राजमार्ग अवरुद्ध भएर दिउँसोदेखि नै सडकमै रोकिएका यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
पहिलो चरणमा दमौलीतर्फबाट गएका सवारी र दोस्रो चरणमा डुम्रेतर्फबाट आएका सवारीलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।
उक्त सडकखण्ड आइतबारसम्ममा दुईतर्फी रुपमा सञ्चालनमा आउने बताइएको छ । साउन ६ गते सडक भासिएर पटक–पटक अवरुद्ध हुँदै आएको राजमार्ग शनिबार बिहानैदेखि बन्द गरेर मर्मतको काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर सचिन श्रेष्ठले भत्किएको सडकखण्डमा ग्याविनजाली भरेर सडक सुचारु गर्न काम भइरहेको जानकारी दिनुभयो । काम नसकिएकाले आइतबारसम्ममा सडक दुईतर्फी रुपमा सञ्चालनमा आउन सक्ने उहाँले बताउनुभयो ।
शनिबार नै उक्त सडकखण्डमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई भने आवतजावतमा सहज बनाइएको थियो । निरन्तर परेको वर्षाका कारण मङ्गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाई हुँदै आएको छ । सडक भासिएर वैकल्पिक मार्ग बनाइएपनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेपछि दिगो रुपमा नै सडक मर्मतको काम शुरु गरिएको हो ।