देवघाटमा बन्याे सभाहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा बन्याे सभाहल

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, मंगलवार

    तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा–५ कुँदीमा सभाहल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा आधुनिक सभाहल निर्माण गरिएको हो ।

    कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न देशभर बन्दाबन्दी गरिएकै समयमा गाउँपालिकामा सभाहल निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा पनि निरन्तर काम हुँदा समयमै सभाहल सम्पन्न गर्न सहज भएको थापाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेपनि बन्दाबन्दीको कारण अप्ठ्यारो पर्ने अवस्था आएपछि निर्माण व्यवसायीले सबै मजदुरहरुलाई त्यही नै खाने, बस्नेको व्यवस्था गरि निरन्तर काममा लगाएर सभाहल निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तनहुँसँग समन्वय गरेर निर्माण सामग्री ढुवानी गरी कामलाई निरन्तरता दिइएको थियो ।

    पाँच रोपनी क्षेत्रफलको जग्गामा निर्माण गरिएको उक्त सभाहल तीन सय क्षमताको रहेको छ । उक्त सभाहलमा दुई वटा साना कोठाहरु रहेका छन् । लागत इस्टमेट रु एक करोड भएपनि टेन्डर प्रक्रिया मार्फत् रु ९५ लाख ५४ हजार तीन सय ३३ को लागतमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

    त्यस्तै रु चार लाख ८५ हजार चार सय ४१ को लागतमा सभाहलमा जिप्सम लगाउने काम सम्पन्न भएको छ । सभाहलमा कम्पाउण्ड लगायतका काम सम्पन्न गर्नका लागि रु २२ लाख ५४ हजार पाँच सय २६ आवश्यक पर्ने देखिएकाले उक्त रकम प्रदेश सरकारसँग माग गरिएको गाउँपालिकाले जनाएको छ ।

    सभाहल नहुँदा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु हाटबजारको हलमा आयोजना गर्दै आएको छ । “गाउँपालिकामा सुविधासम्पन्न सभाहल नहुँदा कार्यक्रमहरु गर्नुपर्दा समस्या पर्ने गर्दथ्यो, नयाँ सभाहल बनेपछि सहज हुने भयो,” प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले भन्नुभयो ।

    निर्माण सम्पन्न भएको सभाहल निर्माण कम्पनीले गाउँपालिकालाई आइतबार हस्तान्तरण गरेको छ । भरतपुर महानगरपालिकास्थित नीति कन्स्ट्रक्सनका प्रोपाइटर हरिप्रसाद घिमिरेले सभाहलको साँचो गाउँपालिकाका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभयो ।