घर भत्किएकालाई गाउँपालिकाद्वारा सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    घर भत्किएकालाई गाउँपालिकाद्वारा सहयाेग

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, बिहीबार

    तनहुँ । साउन ६ गते परेकाे भीषण वर्षाले घर भत्किएका तनहुँकाे बन्दीपुर गाउँपालिका-१ का दुई परिवारलाई गाउँपालिकाले राहत रकम प्रदान गरेकाे छ । पूर्ण घर क्षति भएकालाई रु ३० हजार सहयाेग गर्ने निर्णय बमाेजिम गाउँपालिकाका अध्यक्ष पूर्णसि‌ंह थापाले मन्जु अधिकारी र अर्जुन अधिकारीलाई बुधबार उक्त रकम प्रदान गर्नुभएकाे छ ।

    साेही अवसरमा रेडक्रस साेसाइटीबाट प्राप्त सामग्री समेत प्रदान गरिएकाे थियाे । बन्दीपुर गाउँपालिका-१ मा दुई घर पूर्ण क्षति, १० घर आंशिक क्षति र १५ घर जाेखिममा रहेकाे वडाध्यक्ष भानुभक्त पाेख्रेलले जानकारी दिनुभयाे ।

    गाउँपालिकाले बाढीपहिराबाट घर क्षति भएकालाई राहत दिने निर्णय गरेकाे थियाे । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाका अनुसार पूर्ण रुपमा घर क्षति भएकालाई प्रति घर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रति घर रु १० हजारका दरले राहत दिइनेछ । साथै बाढीले खेत बगर भएका किसानलाई प्रति रोपनी रु दुई हजारका दरले राहत दिइनेछ ।

    “पहिराले घर पूर्ण रुपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ, पूर्ण तथ्याङ्क आइसकेको छैन,” थापाले भन्नुभयो, “प्रत्येक वडा कार्यालय मार्फत् तथ्याङ्क लिने काम भइरहेको छ ।” थापाका अनुसार २० घर आंशिक रुपमा क्षति भएको छ । पहिराबाट विस्थापित भएकाहरु छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् ।

    बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेतहरु बगर भएका छन् । बगर भएका खेतहरुको अनुगमन गरी क्षति भएका किसानलाई राहत स्वरुप क्षतिपूर्ति दिइनेछ । “खेतमै पुगेर कति भएको छ, त्यसको निरीक्षण गर्छौ, त्यसपछि कृषकलाई प्रति रोपनी रु दुई हजारका दरले राहत रकम दिन्छौ,” थापाले भन्नुभयो ।