पाेखरा । गण्डकी प्रदेशमा एकैदिन बिहीबार ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । ६ जिल्लाका ३७ पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जामा ११, बागलुङमा छ, तनहुँमा तीन, नवलपुरमा एक, लमजुङमा तीन र कास्कीमा १४ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिकाका एक, गल्याङ नगरपालिकामा छ, पुतलीबजार नगरपालिकामा एक, भीरकोट नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ ।
बागलुङको काठेखोला गाउँपालिकाका दुई, बागलुङ नगरपालिकाका एक, जैमिनी गाउँपालिकाका एक, बडिगाड गाउँपालिकाका दुई, तनहुँको ऋषिङ गाउँपालिकाका एक, व्यास नगरपालिकाका दुई, नवलपुरको बौदीकाली गाउँपालिकाका एक, लमजुङको वेशीशहर नगरपालिकाका तीन, कास्कीको पोखरा महानगरपालिकाका १४ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ७९ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै एक हजार दुई सय ३० जना कोरोना निको भएर घर फर्किएका छन् ।