तीव्र गति : जीवन क्षति (रिपोर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीव्र गति : जीवन क्षति (रिपोर्ट सहित)

    विनोद ढुंगाना

    १९ श्रावण २०७७, सोमबार

    घट्दै सडक दुर्घटना, वर्ष दिनमा ४४ जनाको मृत्यु

    तनहुँ /चैतको दोस्रो सातादेखि साउन दोस्रो सातासम्म झण्डै चार महिना सडकमा सवारीसाधनको चाप भएन । नोबेल कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाले सवारी चलेनन् । चार महिना लकडाउन हुँदा तनहुँमा हुने सडक दुर्घटनामा ह्वात्तै कमी आएको छ ।

    ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार वर्ष दिनमा जिल्लाका ६४ स्थानमा भएका सडक दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्क गत आर्थिक वर्ष २०७६÷०७७ को हो । चैतदेखि असारसम्म भएका दुर्घटनामा ९ जनाको ज्यान गएको छ । त्यो अवधिमा १० स्थानमा दुर्घटना भएका थिए । गत वर्ष भएको सडक दुर्घटनामा ३० जना पुरुष, ११ जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ६७ जना गम्भिर र ८९ जना सामान्य घाईते भए ।

    दुर्घटनामा पर्ने सवारीमा मोटरसाईकल अ्रगस्थानमा छ । ३१ वटा मोटरसाईकल दुर्घटनामा परेका थिए । १६ बस, १५ जीप तथा कार, ट्रक तथा टिप्पर १४ र ट्याक्टर १० वटा दुर्घटनामा परेका कार्यालयले जनाएको छ ।

    अघिल्लो बर्ष २०७५÷०७६ मा ६१ जनाले ज्यान गुमाएका थिए । २०७४÷०७५ मा ६५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यसरी तीन वर्षको तथ्याङ्कलाई हेर्दा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या घट्दो देखिन्छ ।

    ०७६÷७७ मा दुर्घटनामा कमी आउनुको मुख्य कारण चार महिनासम्म गरिएको लकडाउन हो । तनहुँका ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक रेशम रानाभाट भन्नुहुन्छ, ‘‘लकडाउन भएको कारण पनि दुर्घटनामा केही कमी आएको हो । किनकी कोरोनाको सङ्क्रमणबाट आम नागरिकलाई कसरी सुरक्षित गराउन सकिन्छ भनेर सबै प्रहरी सडकमा उत्रिएर सबै सवारी साधनलाई चेकजाँच गरेर परामर्श दिएर सजग र सतर्क बनाएका थियौ ।”

    साँघुरो सडकमा धेरै सवारी गुड्ने र जथाभावी ओभरट्याक गरेर चलाउँदा दुर्घटना हुने गरेको उहाँको भनाई छ । मानसिक तनाव लिएर र हतारमा सवारीसाधन नचलाउन ट्राफिक प्रमुख रानाभाटको सुझाव छ ।

    केही दुर्घटना ग्रामीण क्षेत्रको कच्ची सडकमा भएपनि अधिकांश दुर्घटना पृथ्वीराजमार्गको विभिन्न स्थानमा भएका छन् । कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाल, विमलनगर, पावरहाउस पृथ्वीराजमार्गमा बढी दुर्घटना हुने स्थान हुन् । बढी दुर्घटना हुने स्थानहरुमा सचेतना बोर्ड, कनभेक्स मिरर राखिएको छ भने राडर गनमार्फत सवारीको गति मापन समेत गर्ने गरिन्छ ।

    गण्डकी प्रदेशमा सबैभन्दा धेरै सडक दुर्घटना हुने जिल्ला तनहुँ हो । दुर्घटना घटाउन सरोकारवाला निकाय र यातायात व्यवसायीसँग समन्वय गर्ने तनहुँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । मदिराजन्य पदार्थ सेवन गर्नेलाई रोक्ने र कारवाही गर्ने गरिएको उहाँको भनाई छ । धेरै जसो दुर्घटना सवारी चालकले मदिरा सेवन गरेर चलाउँदा हुने गरेको छ । “सडकमा दुर्घटना हुन नदिनलाई हामी सजग छौ । सर्वसाधारणलाई पनि सचेत गराईरहन्छौ,” पौडेलले भन्नुभयो ।

    यसै सम्बन्धि रिपोर्ट सुन्नुहोस

    एक करोड ३४ लाख राजस्व सङ्कलन

    जिल्लामा सडक दुर्घटनामा मात्रै होइन, सवारी कारवाहीबाट उठ्ने राजश्व पनि घट्दै छ वर्षेनी । ०७५÷०७६ मा रु एक करोड ६६ लाख ९४ हजार पाँच सय राजश्व सङ्कलन गरिएकोमा ०७६÷०७७ मा त्यो भन्दा रु ३२ लाख २४ हजार पाँच सय कम रु एक करोड ३४ लाख ५१ हजार सङ्कलन भएको ट्राफिक प्रमुख रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार ट्राफिक नियम विपरित चलाउने सवारी साधन तथा मालवाहक ढुवानीका साधनका चालक कारवाहीमा पर्ने गरेका छन् ।

    नियम विपरित चलाइएका २१ हजार १ सय ५० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको तथ्याङ्क छ । कारवाहीमा पर्ने सवारीमा दुईपाङ्ग्रे मोटरसाइकल तथा स्कुटर नै धेरै छन् । छ हजार तीन सय ५२ मोटरसाइकल स्कुटरलाई कारबाही गर्दा रु ४६ लाख चार हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    आर्थिक वर्ष ०७४/७५ मा सवारी साधनलाई कारवाही गर्दा रु एक करोड ६९ लाख २६ हजार ५ सय सङ्कलन भएको थियो ।

    राजमार्गमा ओभरटेक गर्ने, लेन मिचेर चलाउने, जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने, ओभरलोड, तीव्र गति, मापदण्ड विपरीत कार्य गरेका सवारी र चालकलाई कारबाही स्वरुप सचेतना कक्षा र दण्ड जरिवाना गर्ने ट्राफिक प्रमुख रानाभाटले उल्लेख गर्नुभयो ।