


काठमाडौ । इटालियन सिरि ए च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । शुक्रबार राति शीर्ष १६ को दोस्रो लेगमा लियोनविरुद्ध २-१ गोलको जित निकाले पनि समग्रमा २-२ को बराबरी भएपछि युभेन्टसको दोस्रो चरणको यात्रा रोकिएको हो ।
समग्रमा खेलको नतिजा बराबरी भएपनि पहिलो लेगमा १-० गोलको जित निकालेको लियोन अवे गोलको आधारमा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको हो । दोस्रो लेगमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि समग्रमा टोलिको जितका लागि पर्याप्त हुन सकेन ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता भने लियोनले लिएको थियो । युभेन्टसको घरेलु मैदानमा भएको खेलको १२ औं मिनेटमा लियोनका कप्तान मेम्फिस डिपाएले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि लियोनले पेनाल्टी पाएको थियो । जसमा कप्तान डिपाए चुकेनन् ।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा युभेन्टसले पेनाल्टी पाएको थियो । पेनाल्टी क्षेत्रभित्र बल लियोनका कप्तान मेम्फिस डिपाएको हातमा लागेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याएका थिए । त्यस्तै ६० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को जित दिलाए । तर समग्रमा खेल २-२ को बराबरी भएपछि अवे गोलको आधारमा लियोन च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।अब लियोनले सेमिफाइनलका लागि प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीसँग खेल्ने छ । सिटीले स्पेनिस ला लिगा क्लबलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।