चितुवाको आक्रमणबाट छोरा गुमाएकासँग सांसद सिग्देलद्वारा भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    चितुवाको आक्रमणबाट छोरा गुमाएकासँग सांसद सिग्देलद्वारा भेट

    विवि श्रेष्ठ

    ३० श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट छोरा गुमाएका परिवारलाई तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले शुक्रबार भेट गर्नुभएको छ । पीडित परिवारलाई सान्त्वना दिँदै सांसद सिग्देलले पीडित परिवारलाई रु दश लाख प्रदान गरिने बताउनुभयो ।

    चितुवाको आक्रमणबाट गत साउन २१ गते विष्णुकुमार रानाका छोरा डेड वर्षीय नारायण रानाको मृत्यु भएको थियो । घटना अत्यन्त दुखद भएको र अबको दिनमा थप सतर्कता अपनाउन सांसद सिग्देलले आग्रह गर्नुभयो । सरकार जनताको हरेक समस्यामा चिन्तित रहेको सांसद सिग्देलको भनाई थियो ।

    जंगलको बीचमा घर भएको हुँदा पनि जोखिम बढ्ने भएकाले बस्ती भएको ठाउँमा घर स्थानान्तरण गर्न सांसद सिग्देलले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस दुखद घडिमा सरकारले सकेको सहयोग गर्ने बताउनुभयो ।

    मृतक परिवारजनलाई समवेदना दिनका लागि डिभिजन वन कार्यालयका प्रमुख केदार बराल, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारी, शुक्लानगरपालिकाका प्रवक्ता खिम कुमाल, नेकपा नेताहरु श्रीप्रसाद श्रेष्ठ, रामचन्द्र उपाध्याय, हरिराज कडेल लगायतका नेताहरु मसार पुग्नुभएको थियो । सोही क्रममा डिभिजन वन कार्यलयका प्रमुख बरालले चितुवाको खोर स्थानीयवासीलाई हस्तान्तरण गर्नुभयो ।