तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर राना सहित ३७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट स्वाब सङ्कलन गरी भरतपुर अस्पतालमा गरिएको परीक्षणबाट ३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे, देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष याल बहादुर गुरुङको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
गाउँपालिकाले गत बुधबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । यसैगरी आइतबार ८६ जनाको स्वाब सङ्कलन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।