तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाउने गरिन्छ । तीजको अघिल्लो रात द्वितीयाको दिन दर खाने गरिन्छ । तीजको दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी ब्रतको पारण खाने गरिन्छ भने तीजको तेस्रो दिन अर्थात ऋषिपञ्चमीको दिन ब्रतालु महिलाहरूले ३६५ वटा दतीवनले दाँत माझेर माटो लेपान गरी स्नान गर्ने गरिन्छ । तीजलाई तडकभडक, देखासिकी, भोकै बसेर स्वास्थ्य बिगार्ने भन्दा सद्भाव, दाजुभाइ दिदिबहिनी, बुबाआमा छोराछोरीबीचकोे दुख, पीडा भुलाउने र रमाइलो गर्ने चाडको रूपमा मनाउनुपर्दछ । पछिल्ला वर्षहरुमा महिनौ अघि देखि महङ्गा महङ्गा लुगा, गहना लगाई होटल, पार्टी प्यालेस जाने र भड्किलो रूपमा तामझामका साथ तीज मनाउने क्रम बढ्दै गएको परिप्रेक्ष्यमा यसपटक भने तीज सहितका सबै चाडपर्वलाई कोरोना भाइरस सङ्क्रमणका कारण प्रभावित पारिदिएको छ, सबैतिर ठप्प बनाएको छ । चैत महिना यताका हरेक चाडपर्व कोरोनाका कारणले ओझेल परेका छन् । अहिले आफ्नो जीवन रक्षालाई उच्च महत्व दिँदै आफू बच्ने र अरूलाई बचाउने गरि चाडपर्वहरू मनाउनुपर्ने बाध्यता छ । यहि सङ्क्रमणका कारण तीजमा सामूहिक भेला हुन, अन्य समयमा जस्तो भेटघाट, रमझम, प्रतियोगिता, उल्लास हुन नपाउने गरि सरकारले निषेधाज्ञा जारी गरेको छ ।
तीज धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । शिवजस्तै पति पाउन ब्रत बस्ने चलन धर्मसँग जोडिएको छ । दर खाने रातो सारी चुरापोतेमा सजिने र नाचगान गर्ने परम्पराले संस्कृतिको रूप लिएको छ । दर खाने नाममा आफन्तसँग भेटघाट गर्ने, माइती जाने, रमाइलो गर्ने, उपहार आदानप्रदान गर्ने परम्पराले सामाजिक रूपमा प्रगाढता बढाउँदछ । तीजको शुरुवाती किंवदन्ती पनि रोचक छ । “धार्मिक शास्त्रका अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने तयारी गरेका थिए । पार्वती भने शिवजीलाई मन पराउँथिन् । आफ्नो चाहना विपरित बाबुले विवाह गर्ने तयारी गरेपछि उनले त्यसविरुद्ध विद्रोह गरिन । उनी आफूले मन पराएका शिवलाई वर पाउन जङ्गल गएर तपस्या गर्न थालिन् । उनले शिवलिङ्गको स्थापना गरि पानी समेत नपिई भोकभोकै ब्रत बसेको देखेर शिवजी प्रकट भए । पार्वतीले आफ्नो इच्छा शिवजी सामु प्रकट गरिन् । शिवजीले मनले चिताएको कुरा पूरा होस भनी पार्वतीलाई आर्शीवाद दिए । उता हिमालय छोरी हराएकामा चिन्तित थिए । उनी पार्वतीलाई खाज्दै जङ्गलमा पुगे । हिमालयले पार्वतीलाई फकाएर फर्काउने प्रयास गरे, तर पार्वतीले महादेवलाई पतिको रूपमा नपाएसम्म नफर्कने अड्डी कसिन् । अन्ततः हिमालयले हारे । छोरीको माग उनले स्वीकार गरे । त्यसपछि महादेवसँग छोरीको विवाह गराइदिए । त्यतिबेलाको समाजमा आफूलाई मन परेको व्यक्तिलाई पति पाउन पार्वतीले एक प्रकारको विद्रोह गरेकी थिइन् । आधुनिक युवायुवतीले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न गर्ने हर्कत भन्दा कुनै अर्थमा पार्वतीको प्रयास कम थिएन । प्रेमलाई सफल बनाउन त्यो समयमा गरिएको विद्रोह साँच्चिकै उदाहरणीय छ । त्यसैले स्वरूप परिवर्तन भए पनि यसले दिने सन्देश भने उस्तै छ । त्यसैले यो चाडलाई अविवाहिताले आफूले मन पराएको व्यक्तिलाई पाउन ब्रत बसेर मनाउँछन भने विवाहिताले यस अवसरमा पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै शिवजीसँग वर माग्दछन् । तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य र प्रगति हुने मान्यतामा आधारित छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीको ईच्छा पूरा भई शिवसँग विवाह भएको हुनाले सोही तिथिदेखि हिन्दु नारीहरूले त्यो दिनलाई उत्सवको रूपमा मनाउन थालेको र यो चलन पौराणिककालदेखि चल्दै आएको मानिन्छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपमा व्याख्या गरिएपनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बिताउनुपर्ने हुन्छ । घर, परिवार, समाज, इष्टमित्र चटक्कै छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीघरको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । यसपटकको तीजमा कोभिडको आतङ्कले भौतिक दूरीको जरुरत र सरसफाई अनि स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुनुपर्ने अवस्था छ र सोही अनुसार तीज आआफ्नो घरमै बसी मनाउनुहुन सम्पूर्ण आमा दिदीबहिनीमा अनुरोधसँगै पंक्तिकारको तर्फबाट शुभकामना छ ।