विषय प्रवेश
वि.सं.२०७९ साल जेठ ९ गते संखुवासभाको मादी पुलुङमा हुने श्रीपााली बस्न्यातहरुको कुलायन पूजामा सहभागिता जनाउन पदम श्रीपाली बस्न्यात, अर्जुनमानसिंह बस्न्यात, शिवराज बस्न्यातहरुले हामीलाई निमन्त्रणा गर्नु भएको थियो । त्यो पटक समय र स्वास्थ्यका कारणले पनि मादीको पुलुङसम्म पुग्न सकिएन । पुनः २०८२ जेष्ठ ५ गते मादी पुलुङमा हुने कुलायन पूजामा सहभागी हुन निमन्त्रणा आइपुग्यो । २०८१ बैसाख ११ गते महालक्ष्मी नगरपालिका वडा नं. ५ ज्यामिरे धनकुटामा हुने कुलायन पूजामा सहभागिता जनाउन पुगियो तर धनकुटाको लेगुवा पुगेर पनि चैनपुर हुँदै मादी पुलुङ पुग्न सकियन । यस वर्षको कुलायन पूजामा जसरी भए पनि जानै पर्छ भन्ने कुरा गोरखाका अध्यक्ष विनोद बस्न्यात र काठमाण्डौका सुदिपमानसिंह बस्न्यात सङ्ग सरसल्लाह भयो । सल्लाह अनुसार जेष्ठ ३ गते नारायणगढ ,हेटौंडासिन्धुली गाइघाट, धरान धनकुटा, संखुवासभाको चैनपुर हुँदै मादीपुलुङ जाने निधो गरियो । यात्राको क्रममा हेटौंडा , सिन्धुली गढी, सिन्धुलीको हिर्दिङ , सिन्धुलीकै धुरकोट , उदयपुरका कटारी र गाइघाट, नेपालमै हरेक १२ वर्षमा महाकुम्भ मेला लाग्ने स्थान चतराधाम , बूढा सुब्बाको नगर धरान , धनुकटाको हिले लेगुवा, लालीगुरांसकोे राजधानी नामले चिनिने तेह्रथुमको तीनजुरेहरु पनि हाम्रा भ्रमणका प्राथमिकतामा परेका थिए ।
यात्राको प्रारम्भ
मूलकाजी अभिमान सिंह बस्न्यात र मूलकाजी बखतावरसिंह बस्न्यातको इतिहास सङ्ग साइनो जोडिन पुगेको सिन्धुलीगढी, हिर्दिङ, धुरकोटको साथ साथै संखुवासभाको चैनपुरको बस्न््यात पौवा नामले चिनिने मेजरपाटी, मादीपुलिङमा हुने श्रीपाली बस्न्यातहरुको कुलपूजा अबलोकनमा सहभागिता जनाउन जाने निधो गरियो । पहाडकी रानीहरु भनेर चिनिने पूर्वी पहाडमा अवस्थित शहर बजार एवं धार्मिक तीर्थस्थलहरुको समेत अबलोकन गर्न र दाजुभाइ सङ्ग हार्दिकता साटासाट गर्न पाइने भएकाले यो भ्रमण एक संझना योग्य रहने विश्वास गरेका थियौं । श्रीपाली बस्न्यात समाज तनहुँका अध्यक्ष दिपक बस्न्यातको नेतृत्वमा तनहुँबाट कमला बस्न्यात , विष्णुबहादुर बस्न्यात, देवीबहादुर बस्न्यात, इश्वरी बस्न्यात, मोहन बहादुर बस्न्यात , निरा बस्न्यात र चितवन हाकिम चोकका धनबहादुर बस्न्यात सहभागी बनेका थिए भने गोरखा जिल्ला कमिटीका अध्यक्ष विनोद बस्न्यातको नेतृत्वमा हितमानसिंह बस्न्यात, मदनमानसिंह बस्न्यात, गोरखाका कुलधामी इमानसिंह बस्न्यात , सचिव केशवमानसिंह बस्न्यात, शान्तसिंह बस्न्यात र लमजुङ बेसीशहरका काजी बस्न्यात सहभागी हुने पक्कै निधो भएको थियो । तनहुँका दाजु भाइ विहान ५ बजे देखि दमौलीबाट यात्रा सुरु गरेर मस्र्याङदी पावर हाउस नजिकको रेष्टुरेण्टमा विहानको चिया नास्ता गरेर गोरखाका साथीभाइहरुलाई पर्खेर सङ्ग सङ्गै जाने अठोट गरियो । भरतपुरको पारस बसपार्क पुगेर चितवनका धनबहादुर बस्न्यातसङ्ग भेट भए पछि हाम्रो पूर्व तर्फको यात्राका यात्रीहरुले पूर्णता पायो । भरतपुर पारसबसपाक बाट हामी टांडी हुँदै हेटौंडा पुगेर विहानको खाना खाने काम गरियो । भ्रमणदलका अठार जना सदस्यहरु हेटौंडा ,पथलैया, बर्दीबास , ढल्केवार, इटहरीको मार्गलाई छोडेर मदनभण्डारी लोकमार्गको बाटो पुतली बजार, काठमाण्डौ नीजगढ फास्टट्रयाक, सिन्धुली झनझने सिन्धुलीको धुराबजार पुगेर चिया नास्ता खाए पछि हामी सिन्धुली माढी हुँदै सिन्धुली गढी पुगियो । नेपाल एकीकरणको सन्दर्भमा नेपाल एकीकरण अभियानका अभियान्ता हाम्रा पुर्खाहरुमा मूलकाजीअभिमानसिंह बस्न्यात, प्रधान सेनापति केहरसिंह बस्न्यात , सरदार रन्या बस्न्यात, मूलकाजी बखतावरसिंह बस्न्यात , काजी वंशराज पाण्डे ,काजी श्रीहर्ष पन्त , खजाञ्ची वीरभद्र उपाध्याय, शिकारी वंशु गुरुङहरुलाई स्मरण गरी श्रध्दासुमन व्यक्तः गरेर पनः सिन्धुलीमाढी झरेर उदयपुर गाइघाट,चतरा हुँदै धरान पुगेर बास बसियो ।
मेजर रनमान सिंह बस्न्यातको स्मरण
जेठ ४ गते बिहान छ बजे उठेर हामी सबैजना चियापानमा सरिक बनियो , धन्यै ६.३० बजे धनकुटाको हिले बसन्तपुर हुँदै लालीगुरांसको राजधानी भनेर चिनिने स्थान तेह्रथुमको तीनजुरे पुगियो । मादी पुलुङ पुग्ने बेलामा रामबेनी नजिकको बेनीबजारमा काठमाण्डौबाट आएका खगेन्द्र बस्न्यात , विजय बस्न्यात , सुदिप बस्न्यात र श्यामकाजी बस्न्यात सङग झुलुक्क भेट हुन पुग्यो । मादी पुलुङको गाउँमा पुगे पछि त्यहाँका आदरणीय व्यक्तिहरु पदम श्रीपाली बस्न्यात ,शिक्षक अर्जुन बस्न्यात , व्यवसायी शिवराज बस्न्यात लगायतका दाजुभाइ संग भलाकशारी गर्ने सुअवसर मिल्यो । करिव ३.३० बजे तिर पानी परेकोले चैनपुर जाने कार्यक्रम अचानक स्थगित हुन पुग्यो । मेजरपाटीको अध्ययन र अवलोकनको लागि जेष्ठ ५ गते बिहानै हामी पुलुङबाट चैनपुर प्रस्थान ग¥यौं । केही समय अगाडि सम्म चैनपुर किराँतकालको शासन व्यवस्थाको प्रमुख केन्द्र , संखुवासभा जिल्लाको पुरानो व्यापारिक केन्द्र, तिब्बत भोट लडाइको मुकाम , संखुवा सभा जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक गोलाबजारको नामले सुविख्यात थियो तर अहिले संखुवासभाको सदरमुकाम खाँदवारीमा सर्न पुगेको छ । बाइसे चौविसे राज्यकालमा चैनपुर तत्कालीन विजयपुर राज्य अन्तरगत पर्दथ्यो । त्यो बेला यहाँका सेन राजाहरुले तराईमा आफ्नो शासन चलाएता पनि चैनपुर क्षेत्रमा यहाँका राई लिम्बुहरुलाई नै बिजयपुको आधिपत्य स्वीकार गर्न लगाई स्वतन्त्र रुपमा शासन गर्न छुट दिएका थिए । काठमाण्डौबाट ७४ कोश पूर्व रहेको चैनपुरबाटै सिक्किम सम्मको प्रशासन हेर्ने एउटा प्रमुख प्रशासनिक केन्द्र थियो चैनपुर । विशेष गरेर त्यो बेलाको चैनपुरमा लिम्वु र लेप्चा भोटेहको विशेष चकचकी थियो । मूलकाजी अभिमान सिंह बस्न्यात नेतृत्वमा खटिएको सेनाले वि.सं. १८३१ मा विजयपूर राज्यको विशाल भूभाग नेपालमा एकीकरण गरेका थिए भने वि.सं. १८३४ मा चैनपुर क्षेत्रलाई नेपालमा एकीकरण गर्ने प्रयास गर्दा काङ्गसेरेहाङ्ग नामक किराँती मुखिया सङ्ग ठूलो लडाइ लड्नु परेको थियो । किरात मुखियाको मरणोपरान्त नेपालमा गाभिएको चैनपुरका स्थानीय वासिन्दाहरुले सिक्किमेहरुको उक्साहटमा लेप्चाहरुले बेलबेलामा विद्रोह गरी रहन्थे । विद्रोहलाइ दवाउने काम पत्ये गरी काजी अभिमान सिंह बस्न्यात र उनको सैनिक दल साँघुरी गढी हुँदै तराइमा झरेको थियो । पुनः पुन भइ रहेका विद्रोह बवाउनका लागि गोरखाबाट पूर्वान्मुख भएका चार भाइ बस्न्यातहरु मध्ये कान्छो भाइ रनमानसिंह बस्न्यात नेपाली सेनाका मेजर पदमा आसिन थिए भने अरुहरु ढाक्रे नै देखिन्थे । मेजर रनमान सिंह बस्न्यातको कार्यकालमा यहाँका लेप्चा भोटेहरुले बेला बेलामा विरोध गरी रहने गर्दथे । गोरखाली सेनाका मेजर रनमानसिंह बस्न्यात चैनपुर क्षेत्रको सुरक्षामा खटिइएकोले नेपाल सरकारका विरोध गर्ने किराँती र लेप्चाहरुको शिरछेदन गर्दै उनीहरुको शिरलाई चैनपुरको गोलबजारमा संकलन गरेर राखेका थिए । नेपाल सरकारको अधीनता स्वीकार गर्न नचाहने चैनपुरलाई स्वतन्त्र राज्य गठन गर्ने अभियानमा रहेका स्वतन्त्र सेनानीहरुले शिद्धकाली मन्दिरको नजिक रहेको सिस्नोघारीमा लुकेर रनमान सिंह बस्न्यातलाई मार्ने योजनाका साथ मौकाको ताक हेरी रहेका थिए । सिस्नोका गाँजमा लुकेर बसेका लेप्चाहरुले पछाडीबाट घात गरेर रनमानसिंह बस्न्यातको टाउकोमा चुपिले हानेर मारेका थिए । तिनै रनमानसिंह बस्न्यातले संकलन गरेका वैरीका टाउकोहरुलाई आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र असन्तुष्ट लिम्बुहरुले आसा खत्रीका माध्यमबाट वैरी भोटोहरुको शिर नेपाल सरकारमा बुझाइ युद्धको जस आफैले लिएको कुरा मादी पुलङ निवासी गोविन्द बस्न्यातले हामी संङ्गको साक्षात्कारमा बताएका हुन् ।
यस भन्दा अगावै प्रथम सेनापति शिवरामसिंह बस्न्यातको साहिला पुत्र मूलकाजी अभिमानसिंह बस्न्यातले पूर्वका राइ लिम्बुका सघन क्षेत्रहरुलाई बिना युद्ध नेपालमा मिलाएका थिए । तर लिम्वुहरु नेपालको अधीनमा रहन बस्न नचाहँदा विद्रोह बढदै भयो । विद्रोहलाई तिब्बत भोट र सिक्किमका दुबै राज्यहरुले सहयोग गरेका थिए । भोट र सिक्किम दुबै राज्य मिली नेपालमा गाभिइ सकेको भूमि कव्जा गरेको हुनाले केही समयको अन्तरालमा तत्कालीन नेपाल नरेश रणबहादुर शाहका आदेशले नेपालका दोश्रो मूलकाजीका रुपमा रहेका बखतावर सिंह बस्न्यातलाई चैनपुर खण्डको प्रशासन हेर्न र गुम्न गएको भूमिलाई पुनः नेपालको अधीनमा ल्याउन खटाएका थिए । चैनपुर क्षेत्रकै शिद्धकालीको मन्दिरको पूजाआजाको व्यवस्था र पुजारीको खान्कीको लागि १४४ रोपनी जग्गाको व्यवस्था भए झै बस्न्यात पौवा व्यवस्थापन र संरक्षणका लागि ३११ रोपनी जग्गा मूलकाजी बखतावर सिंह बस्न्यातले गुठी राखि दिएको देखिन्छ । बखतावर सिंह बस्न्यात तत्कालीन समया मेजर रहेका हुनाले उनकै नेतृत्वमा सैनिक मिलिसिया खटाइएको र त्यहाँका स्थानीय वासिन्दा मेजर आशा खत्री , मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बुहरुको सहयोगमा बस्न्यातको सोही टोलीले वि.सं. १८४५मा चैनपुर लगायत संखुवासभाको विशाल क्षेत्रलाई भोट र सिक्किमबाट मुक्त गराइ नेपालमा मिलाउन सफल भएका थिए । त्यही बेला बख्तबर सिंह बस्न्यातले मेजरपाटीको विषयमा कुँदेको शिलालेख यहाँ साक्षीको रुपमा उभियर रहेको पाइन्छ । पहिले पहिले यस पाटीलाई बस्नेत पौवा भन्ने गरिएता पनि अहिले सेनाका मेजरले बनाएको पाटी हुनाले अहिले सम्म यस पाटीलाई मेजरपाटी भनेर संवोधन गरेको पाइयो । तीनतला रहेको यस पाटीको हरेक तलामा तीन तीनवटा कोठा रहेका छन् । हाम्रा पुरातात्विक महत्वका समृद्धियुक्त मठमन्दिर लगायतका धरोहरहरुले हामीलाई अझ मोहित बनायो । बस्न्यातहरुको विरासत मेजरपाटीको बाहिरी गाह्रो सही सलामत जस्तो देखिएता पनि हरेक तलाका दलिन तथा सत्तरीहरु मकिइ माथिल्ला तलाहरुमा ठूलाठूला प्वालहरु पर्न गएकाले अलिे बस्न नहुने स्थितिमा पुगेको छ । बस्न्यातहरुले बनाएको मेजरपाटीको वैभव कायम राख्न बस्न्यात वंशधरहरुको संगठन सञ्जालीकरण र संस्थाको नाममा बखेडा गर्न सक्ने तर आफ्ना पूर्खाहरुले बनाएको धरोहर प्रति बेखवर रही चीरनिन्द्रामा रहने बस्न्यात समाजका अग्रजहरुको चालढाल देख्दा लाज र शर्मले मुख ढाकेर हिंड्न पर्ने बनाएको रहेछ ।
मादी पुलुङमा बस्न्यातहरुको बसोबास
गोरखा देखि पूर्वान्ुमुख भएका रनमानसिंह बस्न्यातकै अन्य दाजुभाइहरु मध्ये एक जना भोजपुरतिरै कता बसोबास गरे सो को बारे केही थाहा हुन नआएको र नरसिंह बस्न्यात , दुर्जसिंह बस्न्यात र रनमान सिंह बस्न्यात संखुवासभामा बस्नेथलोको खोजी गर्दै हानथुङ्ग पुगे रे । लेकको हानथुङ्ग भन्ने स्थान बसोबासका लागि उपयुक्त स्थान नभएकाले बस्न्यातहरु मादी पुलुङ र हुम्लिङमा आएर बसोबास गरेका हुन भन्ने कुरा शिवराज बस्न्यातले हामीलाई बताए । चैनपुर क्षेत्रको सुरक्षामा खटिएका मेजर रनमानसिंह बस्न्यातको मृत्यु भएको खवर मादी पुलुङमा पु¥याउने काम गरियो । उनै मेजर रनमान सिंहलाई शिद्धकाली मन्दिरको आडैमा काटेर रगत बगाएको स्थानको खोलालाई अहिले पनि रगतेखोला नामले पुकार्ने गरिन्छ । संखुवासभाको चैनपुर बाटै मादी पुलुङ र हुम्लिङमा बसाइ सरेका श्रीपाली बस्न्यातहरुको घना बसोबास रहेको छ । अहिले चैनपुरमा श्रीपालीहरुको ३⁄४ घर, हुम्लिङ्मा १४ घर र पुलुङमा २० घरपरिवारले बसोबास गर्दै आइरहेका छन् । यहींबाट बसाइ सरेका कतिपय श्रीपाली बस्न्यातहरु अहिले धनुकुटा, इलााम , झापा, पाँचथर,,सिरहा, सप्तरी , मोरङ र सुनसरी तर्फ भेटिन्छन् ।
,
संखुवाशभाको कुलायान पूजाको शोभायात्रा
संखुवासभा नेपालको पूर्वि पहाडी क्षेत्रमा पर्दछ । संखुवासभाको चैनपुरमा बस्न्यातहरुले स्थापना गरेको बस्न्यात पौवा रहेको छ । श्रीपाली बस्न्यातहरुको वंशावलीमा गरहुँ निवासी महेश्वरसिंह बस्न्यातका कान्छा छोरा प्रवल सिंह लमजुङ र प्रवलसिंहका छोरा बि.जी झपट सिंह र मोहजाल सिंह संग संगै गोरखा गएको पाइन्छ । बिजी झपट सिंहका पनाति चित्तसिंहको नाति हमिरसिंहको छोरा श्री भीमसिंह बस्न्यात पूर्व गए भनेर लेखिएको तर कुन ठाउँमा गइ बसोबास गरे भने कहिं कतै उल्लेख भएको पाईदैन । यस कारण पनि पूर्वमा भेटिएका नरसिंह बस्न्यात , दूर्ज सिंह बस्न्यात र रनमानसिंह बस्न्यातहरु भीमसिंह बस्न्यातका सन्तान हुनु भन्न मिल्दैन । त्यो बेलासम्म श्रीपाली बस्न्यातहरुले गोरखामा कुलायन देवताको पूजा आरधना प्रारम्भ गरी सकेको पाईंदैन् । त्यसैले त्यहाँबाट पूर्वगइ बसेका गोरखाली श्रीपाली बस्न्यातहरु र पूर्वेली श्रीपाली बस्न्यातहरु बीच तत्कालीन समयमा सहकार्य संभव नभएकाले यहाँका बस्न्यातहरुले पनि पश्चिमकै विधिविधान अनुसार गोठधूप, मष्ट आरधना , भुरोशिला , बेताल, झाँक्री सिमेभूमेलाई कुलायनका गण मानेर पूजाआजा गरेका हुन सक्दछन् । मष्टलाई निराकार देवताको रुपमा मानेर मष्टका प्रतिकका रुपमा चन्द्र , सूर्य र अग्नीको प्रतिकको रुपमा दियो , रक्षका सूचकमा खड्ग , तरवार लगायतका हातहतियार , राष्ट्रिय ध्वजका प्रतिकमा निशान, जीवि प्राणीको सूचकमा चौंरी गाइको पूच्छर, अनाजका प्रतिकका रुपमा चामल तथा जौ र तेलहनको लागि तिल, वनस्खण्डीको प्रतिकमा कुश , ध्वजापतका सहितको बाँस तथा सालका लिङ्ग , नरिवल, सुपारीको पूजा गरिन्छ भने पूजास्थलको शुद्धताको लागि गाइको गहुँत र गोवर प्रयोग गरिन्छ । प्रायशः मष्ट सम्प्रदायीहरुमा बाह्रभाइ तथा कतै कतै १८ कुलमष्टहरुको उत्पतीका साथसाथै ५२ वीर र १६ मसानी पनि भएको सन्दर्भहरु देखा पर्दछन् । अठार कुलमष्टमा आदिमष्ट, खप्परमष्ट , कालोशिलोमष्ट,, दाह्रेमष्ट ,टेडीमष्ट, दूधेमष्ट ,ढाडेमष्ट लाटोमष्ट, बराहमष्ट, लट्टेमष्ट, रुमालमष्ट मण्डालीमष्ट , खाप्रेमष्ट डढुवामष्ट, महामष्ट, बङ्गारे मष्ट , खैरेमष्ट र खापडमष्ट मानिएको पाइन्छ तर बाह्रभाइ मष्टहरुमा आदिमष्ट, रुमाल मष्ट, खापर मष्ट, टेढी मष्ट, दाह्रेमष्ट, कालामष्ट् , मुण्ड मष्ट, रुपा मष्ट, कैलो मष्ट, मण्डाली मष्ट, दूधे मष्ट, लडे मष्ट र नौ भवानीमा कालिका , मालिका, कनकासुन्दरी त्रिपुरासुन्दरी,जालपादेवी खेसमालिनी ठिंग्याल्नी, हिमालिनी विन्ध्यवासिनीहरु मान्ने चलन छ । मादीपुलुङ निवासी श्रीपाली बस्न्यातहरुले हरेक बैसाख पूर्णिमा र मङसिरको पूर्णिमामा गोठधूप गर्ने प्रचलन रहेको छ । बैसाख शुक्लपूर्णिमाको दिन गोठधूप गरे पछि मात्र हरेक तीन ⁄ तीन वर्षमा कुलपूजा गर्ने परम्परा जीवन्त रहेको छ । कुलपूजा गर्न कुनै वाधा व्यवधान आइनपरोस भनेर कुलपूजा हुनु ७ दिन अगावै नानीमुखि श्राध्द गर्ने परम्परा रहेको छ । कुलपूजा हुने ३ दिन अगाडि नै इष्टदेवी काली माताको पूजा आरधना पछि कालो बोकाको बलि चढाउने गरिन्छ । मूलघरबाट निस्केको कुलको शोभायात्रा मूलघर र मन्दिरको बीचमा रहेको स्थानमा बाँसको लिङ्ग गाडेर गाइगोवरको कैलाश पर्वत बनाएर भगवान शिवजी (शाइबरामष्ट)को पूजा आरधना हुने गर्दछ । भगवान शिवजीको पूजा आरधना र प्रसाद चढाए पछि मात्र कुलमाण्डौ तथा कुलमन्दिरतफ कुलको शोभायात्रा अगाडि बढ्ने गर्दछ ।
कुल देवताको सन्दर्भमा श्रीपाली बस्न्यातहरुमा भेटिएको एउटा कथा यस्तो रहेको छ । श्रीपालमा श्रीपुर शाहीहरुको शासन चल्दथ्यो । सत्ताका लागि श्रीपुर राज्यका भाइ भाइ बीच वैमन्स्यता बढदै जाँदा आपस आपसमा युद्ध हुन गयो । युद्धको मैदानमा श्रीपुरशाहीको कान्छो भाइको मृत्यु भएको , माहिलो भाइ बेपत्ता हुन पुगेको र जेठोभाइको गोडा भाच्चिइ लङ्गडो हुन परेको तितो सत्य कथा धामीहरुको कैरनले बताउँछ । भाइ भाइ बीच मन फाटेका कारण सत्ता त्याग गरी शैपाल हिमालमा दिव्य १२ वर्ष तपस्या गर्दा महादेव खुसी भइ श्रीपाली बस्न्यातहरुको कुलायन देवता बनी भाइ बृन्दलाका सेवा गर्नु भन्ने वरदान प्राप्त गरेकाले उनै श्रीपुर शाही महादेवको रुप लिइ शिःसाकोटी महादेव (शाइवरामष्ट) भएको विश्वास रही आएको पाउँदछौं । उनै शाहीबरा ( श्रीपाल राज्यका अधिष्ठाता श्रीपुरशाहीको “शाही” शब्द र बाह्रभाइ मष्टको संक्षिप्त स्वरुप “बाह”्र जोडदा ”शाहीबाह्र“ ”शाहीवारा“ हुँदै शब्द अपभ्रंश भइ ”साइबारा” बन्न पुगेको हुन सक्दछ । उनै आदिमष्ट ( शाइबारा ) मष्ट श्रीपाली बस्न्यातका कुलदेवता हुन । शाहीबारा मष्ट शिवजीको दायाँहातबाट उत्पति भएको विश्वास गरिन्छ । यसैले उनै आदिमष्ट भगवानलाई शिवजीको अवतार मान्ने गरिन्छ । कुलको शोभायात्रामा सर्वप्रथम श्रीपालीहरुको कर्खा तथा फाग गाउने सारङगी सहितको गाइने तीनजन गाइनेहरु, पञ्चेबाजा सहितको सात जना दमैहरु, कलश, फूलको डोली, रक्षाको सूचक हातहतियार , राष्ट्रिय ध्वजाको प्रतिक निशान, कुलायन देवताको रुपमा शाहीबारा (शाइबारा) मष्टका धामीका साथसाथै,,रुमाल मष्ट,मण्डालिनी मष्टको , आच्छामी मष्ट, भाञ्जामष्ट , क्षेत्रपाल मष्ट ( भूइयार, भयेंर)का धामी , सेतो वस्त्र लगाएका भाइबृन्दलाहरु , स्वेच्छिक पोशाकमा रहेका भाइबृन्दलाहरु अविवाहित आमा, छोरी , बुहारीहरु विवाहित छोरी एवं परपाहुनाहरु कुलपूजाको शोभा यात्रामा सहभागी रहने गर्दछन् ।
कुलायन पूजा पद्धति
त्यसपछि कुलपूजा हुनु भन्दा तीन दिन अगाडी नै जुन ठाउँमा कुलपूजा हुने हो सोही स्थानमा गाउँका सबै भाइबृन्दालाहरु जम्मा भएर महाकाली भगवतीको पूजाआरधना गरेर बलि अर्पण गर्ने काम सम्पन भए पछि कुलमाण्डौ तथा मन्दिरलाई सफासुग्घर गरी चिटिक्क पार्ने काम गर्दछन् । कुलपूजा स्थल शुद्ध छ छैन भनी कुलका धामीहरुले कमसेकम तीन पटक मन्दिरलाई परिक्रमा गरेर ठिक वेठिक के छ भन्ने विषयमा डाङ्ग्रेहरु धामी बसेर घोषणा गर्ने प्रचलन रहेको पाउँदछौं । साधरण तया कुलपूजा हुने अघिल्लो दिन नै धामी एवं सबै भाइपृन्दलाहरु कुलको मूलघरमा जम्मा भएर आफ्न देह तथा शरिर र आत्मा शुद्धीको लागि नङकेश गरेर स्नान गर्ने गर्दछन् । त्यही दिनको साँझ सांझ पख हरेक भाइ बृन्दालाहरुले आफ्नो घरबाट कुललाई अर्पण गर्न तयार गरेको मेडो मन्साएर ठिक छ छैन भनी मेडोलाई शुद्ध र शुभयुक्त छ भन्ने कुरा कुलका धामीबाट प्रमाणीकरण गर्ने गरिन्छ । कुलका धामीले ठिक छ भनी प्रमाणीकरण गरिएका तिनै मेडोहरुलाई सिगारपटार गरी भोलिपल्ट हुने कुलपूजामा कुलदेवतालाई बलिभोग चढाउने गरिन्छ । सातौ दिन अर्थात कुलपूजा गर्ने दिनमा सातदिन अगाडि देखि हरेक मष्टको नाममा बालिएका पाँच⁄पाँचवटा दियोहरु कुलपूजा स्थलमा लगेर विधिवत पूजापाठ गरिन्छ । शाहीबारा मष्ट, क्षेत्रपाल मष्ट रुमाल भइया, मयडलनी देवी अछामी भइयाको दियोहरुलाई दाजुभाइ त्राहेक अरु जनानाहरुले नदेख्ने गरी खड्कुलो भित्र राखेर घरबाट बाहिर ल्याएर कुलको शोभायात्रा संग संगै कुलथान तर्फ अगाडि बढाइन्छ ।
धामीको अङ्मा देउता चडे पछि कुलको शोभायात्रा अगाडि बढाउन कुलधामीहरुबाट साइत हेर्ने काम गरिन्छ । कुलको सवारी चलाउँदा साइतका प्रतिकको रुपमा श्रीपाली बस्न्यातहरुको वीरगाथा तथा कर्खा गाउने सारङगी बाजा सहितका ३ जना गाइनेहरु, पञ्चेवाजा बजाउने सात जना दमैहरु र दिया—कलश एवं फूलको डोली लिने व्यक्तिहरु , कुलका मूलधामी, अन्यधामीहरु अग्रपंक्तिमा रहने गर्दछन्, । त्यसपछि उक्त शोभायात्रामा भाइवृन्दलाहरु आ—आफना मेडो लिएर पछि पछि लाग्दछन् । यसरी कुलको शोभायात्रा कुलपूजा गर्ने ठाउँ तिर अगाडी बढ्दछ । मूलघरबाट निस्कना साथ सर्वप्रथम नागदेवताको पूजा गरेर पूजा गर्ने ठाउँ तर्फ अगाढि बढ्ने गर्दछन् । कुलायन राखेको मूलघरबाट कुलकी जेठी बुहारीलाई धुन्से बोकेर अगि अघि अघि जाने र तत्पश्चात पूजाको लागि चाहिने आवश्यक सबै सरसामान लिएर भाइवृन्दालाहरु अगाडि बढदै गर्दा कुलको शोभा यात्रामा अठार गोटा ठिकै ठिकै साइजका साल एवं बाँसका लिङ्गहरु भाइवृन्दहरुले बोकेर कुलधामीका पछि पछि जाने गर्दछन् । त्यस पछि देउताका शिला एवं सबै सरसामानहरु कुलमाण्डौ सम्म बोकेर लैजाने गरिन्छ । पूजा आरम्भ नहुँदा सम्म पाँच⁄ पाँच जना कन्याहरुले भगवानको शिलामा चमरले हम्कने गर्दछन् । कुलमाण्डौ (मन्दिर)को गर्भगृहमा बनाइएका तीनै पाचवटा मण्डलहरुको पूजा पश्चात मण्डालीलाई काला कुँवर पाठी भोग दिने परम्परा रहेको पाउँदछौं । शाहीबारा बाहेकका अन्य मष्टहरु शिला पत्थर फोरी फोरी उत्पति भएको जनश्विास यहाँका श्रपिाली बस्न्यातहरुमा रही आएको छ ।
कुलथान भन्दा बाहिर धनपति उपाध्यायका खलकले रुद्री पाठ एव ं हवन कार्य सम्पन्न गरे पछि मात्र कुलका धुपौरेले कुल र मण्डालीहरुको पूजाआजा सुरुवात गर्दछन् । कुलायन मन्दिरको गर्भगृहमा सबै मष्ट र भवानीहरुको पूजा गरी सके पछि दिनको मध्यान्ह १२ बजे मौलामा कुलका गण्हरुलाई भोग दिने काम हुँदो रहेछ । घुमाउने घरभित्रको ठाउँलाई एउटा गर्भगृहको रुपमा र अर्को कोठालाई सामन्य कोठाको रुपमा प्रयोग गरिने प्रचलन रहेछ। सामन्य कोठामा पूजामा चढाउन चाहिने आवस्यक सरदमहरु भण्डारण गरेर राखिने रहेछ । गर्भगृहमा ढाल, तरवार, सेती काली चमर , निशान लगातका सरसामानहरु सजायर राखिने र हातहतियार लगायतका सामानको आडैमा साना ठूला पाँच पाँच वटा मण्डल बनाएर शाइबरा मष्ट , रुमाल मष्ट, मण्डाली मष्ट आच्छामी मष्ट, भान्जा मष्टको पूजा आरधना गरिन्छ । मष्टहरुको पूजा गरिएको गर्भगृह महिलाहरुले हेर्न नहुने यहाँको मान्यता रहेछ । यहाँका मण्डाली देवीलाई यहाँका छोरी बुहारीले भाकल गर्ने तर उनै देवीलाई कुलका धामीहरुले पूजा सम्पन्न हुनासाथ कालो पाठीको भोग दिने गरेको देखियो । देवीलाई अर्पण गरिएको भोगको प्रसाद भाकली जननाहरुले खान हुँदैन भन्ने मान्यता रहेकाले मन्दिर भित्रै प्रसाद तयार गरिने र उक्त प्रसाद वंशका पुरुषहरुले बाहेक अरुले ग्रहण गर्न नहुने र घुमाउने घर बाहिर पनि लैजान हुन्न भन्ने मान्यता रहेको पाइयो । कुलायन पूजामा पहिलो भोग मनडाल्नी देवी ( भान्जी ) लइ अर्पण गरे पछि मन्दिर बाहिर राखिएको मौलामा रुमाल मष्ट, आच्छामी मष्ट, र भान्जा मष्टलाइ भोग लगाउने काम गरे पछि अन्त्यमा कुलका जेष्ठ श्रेष्ठ देवता शाइबारा मष्टलाई भोग चढाउने गरिन्छ । शाइबारा मष्ट जेठो ,रुमाल मष्ट माहिलोमा ,मण्डाली देवी तेश्रो ,आच्छामी मष्ट चौथो र भान्जा मष्टलाई पाँचौ सन्तानको रुपमा मानिने भएकाले मष्ट देवीदेवतालाई भैया तथा भवानी साइनोले पुकार्ने प्रचलन पनि देखियो । सबै देवीदेवताले भोग खाइसकेपछि कुलपूजामा आउने भाइवृन्दला एवं निमन्त्रण स्वीकारी त्यहाँ आउने परपाहुनाहरुलाई कुल प्रसाद खुवाउने गरेको पाइयो ।
वायुको उत्पती र धामीको छनौट
अर्कोतर्फ त्यहाँका राइ लिम्बु र लेप्चादि भोटेहरुले शिद्धकाली मन्दिर नजिकको सिस्नोघारीमा लुकीछिपि बसेर मेजर रनमान सिंहलाई पछाडिबाट घात गरेर चुप्पिले हानेर मारेको हुनाले रनमानसिंह बस्न्यात प्रथम वायुका रुपम उत्रिएका हुन । तत्पश्चात श्रीपाली वंशकै कुनै एक भाइले विधवा नारी दिव्येश्वरा सङ्ग विवाह गरी श्रीमतीको दर्जा दिएको र श्रीपाली बस्न्यातको कुलदेवताको पूजाको लापरवाहीका साथ गर्भगृहमा पुग्दा नीज दिव्येश्वराको मुटु दुख्न गई तत्कालै मृत्युवरण गरिन । यसैगरी पिलृवा खोलामा ठूलो बाढी आएको बेलामा जबरदस्ती खोला तर्ने प्रयास गर्दा खोलाले बगाइ दिवंगत हुन पुगेकी चन्द्रमाया बस्न्यात वायुको रुपमा उत्रेकी थिइन भने,वनमा घाँसकाट्न गएका सौतासौतीहरु मध्ये अर्की सौताले बाटुलीलाई भीरबाट धकेली दिंदामा बाटुली बस्न्यातले मृत्युवरण गरिन । अगतिको मार्गबाट मृत्यु प्राप्त गरेका पूर्वजहरुलाई अहिले सम्म यहाँका श्रीपाली बस्न्यातहरुले रन्याथानी, दिव्येश्वरी थानी, बाटुली थानी, चन्द्रमाया थानी र दिलमान थानीको रुपमा पूजाआजा गर्दै आएको कुरा कुलका रुमालमष्ट तथा मण्डलीका धामी मेहरमान बस्न्यातले हामीलाई बताए । मष्टदेवताको कुलपूजा सुरु हुनु सात दिन अगावै कुलपूजा गर्नको लागि कुलका धामीहरु मूलघरमा जम्मा भइ नजिकको जलाशयमा पुगी दैनिक स्नान गर्ने र नयाँ कपडा लगाएर एक भक्त रही फलाहार गरेर चोखोनीति पूर्वक रहने बस्ने गर्दछन् । नयाँधामीको खोजी गर्नु पर्दा धामीहरु धमेली बस्ने र धामीको छनौट भइ सके पछि नयाँ धामीलाई दियो कलश दिने प्रचलन रहेको छ । परीक्षाको घडीमा नवधामीहरुले परम्परा देखि चल्दै आएको व्यवहरित रीतिस्थिति र कायाकैरन कहनु पर्दछ । परम्परागत चल्दै आएका कायाकैरनहरुलाई आधार मानेर पुराना धामीहरुले नयाँ धामीको छनोट गर्ने परम्परा यद्यपि रहेको छ ।
कुलपूजाको समापन
पूजा गर्ने काम र प्रसाद ग्रहण गर्ने काम सम्पन्न भए पछि देउताका सरसामानहरु लिएर कुलको मूलघर तिर फर्कने र कुलका सरसामान सुरक्षाका साथ राख्ने गरिन्छ । भाइवृन्दलाले राजीखुसी साथ गरेको पूजाबाट कुलदेवता खुसी हुँदै सबै भाइवृन्दालाहरुको रक्षा गर्ने बचन दिंदै कुलायनले सबै सँग विदा माग्ने परम्परा देखियो ।,तीन⁄तीन वर्षका अन्तरालमा गरिने कुलायन पूजा हुने भएकाले उक्त अवधिसम्म कुलायन देवता गुप्तवास हुने गर्दछन भन्ने यहाँका श्रीपाली बस्न्यात दह्रो विश्वास रहेको पाउँदछौं । भनाइ छ नी सबैले सरापे ठाउँमा बस्नु तर भगवानले सरापे ठाउँमा कहिले नबस्नु । आपत पर्दा सबैलाई छोड्न तयार बनौं तर भगवानको साथ कहिले नछाडैं भन्ने भावन मुखरित भएको पाइयो । मानिस जति नै धनी होस तर आफ्नो कुल प्रतिको अगाध मान्यता राख्दछ भने उस्लाई सधैं फलिफाप हुने र मान्यता नगरेमा त्यसका सात⁄सात पुस्ता सम्मका छोराछोरी अपाङ्ग र मन्दबुद्धि भएका सन्तान जन्मन्छन् भन्ने जनविश्वास रहेको पाइयो । मान्ने भए कुलदेवता मान र नमान्ने भए राक्षसलाई मान भन्ने विशिष्ट परम्परा खसहरुको हो भन्नै पर्दछ । अन्य पूजापाठ भन्दा कुलपूजा नै महान धर्म हो ।
अन्त्यमा
कुलपूजा समाप्त भए पछि हाम्रो टोली चैनपुर लेगुवा हुँदै भोजपुर को चन्द्रा होटलमा गएर बसोबास को व्यवस्था मिलाइयो । बिहानै तेह्रथुमको तीनजुरे मुडेबजार हुँदै माम्लिङ पुगियो । नेपालको संविधानले स्मरण गरेको लाली गुराँस फूल हेर्न तीनजुरेमा निकै समय बसियो । सिन्धुलीका सुन्दर बस्नेत र दिल बहादुरबस्नेत सङ्ग भेट गरी त्यहाँका दाजुभाइ सङ्ग गहन छलफल गरियो । सिन्धुली कै हिर्दिङ भने मोटर मार्ग खराव भएको कारण त्यता जाने हिम्मत गरिएन । हामी सिन्धुलीगढी हुँदै सिन्धुलीमाढीको बसपार्क , धुराबजार हुँदै सिन्धुली कै झनझने आएर विहानको खाना खायों । झनझनेबाट निजगढ काठमाण्डौ फास्टट्रयाक क्रस गर्दै हामी विस्तारै हेटौंडाको पुतलीबजार हेटौंडा , सहिद स्मारकपार्क , नारायणगढमा, मुगलिङ हुँदै दमौली पुगेर यात्रालाई बिट मारेका थियौं ।
श्रोत—
१, पूर्वी नेपालको एकीकरण पछि संक्रमण व्यवस्थापन मा काजी आसा खत्रीको योगदान — डा. सोम प्रसाद खतिवडा— प्राचीन नेपाल अङ्क (१८२—१८३) ।
२, मिति २०८२ जेष्ठ ५ गते भएको कुलपूजाको प्रत्यक्ष दर्शन ।
३, मादी पुलुङ निवासी अर्जुन , बस्न्यात , गोविन्द बस्न्यात , शिवराज बस्न्यात , पदम श्रीपाली बस्न्यात ।