तनहुँ : स्वदेशमा किसानले उत्पादन गरेको कृषि उपज नबिकेर कुहिएर फ्याँक्नुपर्ने हुन्छ । तर, भारतबाट भित्रिएको वस्तुले बजार पुरै ओगट्छ । छिमेकीले देशको सीमा मिचिरहन्छ । न्याय पनि पक्षपाती छ । शक्त् र सत्ताको आडमा जे गरे पनि हुन्छ यहाँ । देशको यही परिस्थिथतिलाई खबरदारी गर्दै प्रतिभाशाली सर्जक शिव सुवेदीले नयाँ गीत ‘अति भो अति’ ल्याउनुभएकाे छ ।
सुवेदीको शब्द र संगीत रहेको गीतमा लोकदोहोरी क्षेत्रका चर्चित दश जना गायकगायिकले स्वर भर्नुभएकाे छ। लोकदोहोरी क्षेत्रका चर्चित कुलेन्द्र विश्वकर्मा, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सुर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुले गाउनुभएकाे छ ।
हाल अध्ययनका लागि विदेशमा रहनुभएका उहाँले पाँच वर्षपछि नयाँ सिर्जना दर्शक श्रोतामाझ ल्याउनुभएकाे हाे । विदेशमा रहेपनि देशको वर्तमान परिस्थितीलाई हेर्दा अति भएपछि सरकार र पद्धतीमाथी प्रश्न गर्दै नयाँ गीत ल्याएको उहाँले बताउनुभयाे ।
सुवेदी आफ्नो सिर्जनालाई गरिबको गीत भन्नुहुन्छ। ‘देशको वर्तमान अवस्थालाई गीतले बोलेको छ । कोरोना कहरमा जनता जिवन र मरणको दोसाँधमा हुदा समेत शक्तिको आडममा भ्रष्टचार गर्न छाडेनन् । देशमा सिस्टम नै भएन । देश बुझेकाहरुले गलतलाई गलत भन्न सक्नुपर्छ । मैले सिर्जनामार्फत गलतको विरुद्ध आवाज उठाएको हुँ’, उहाँले भन्नुभयाे ।
गीतमार्फत काठमाडौँमा भईरहेको ‘इनफ इज इनफ’ आन्दोलनलाई नैतिक समर्थन जनाएको उहाँले बताउनुभयाे । विदेशमा भएपनि देशको दुरदशा देख्दा सबै नेपालीको मन दुख्ने बताउँदै उहाँले सरकारको खराब कदाबिरुद्ध युवाहरु बोल्नुपर्ने सुनाउनुभयाे । र सरकारले जनताको आवाजलाई सुन्नुपर्ने उहाँको भनाई छ ।
सर्जक सुवेदीले पाँच वर्ष अगाडी पनि जुनै सरकार परिवर्तन भएपनि जनताले सास्ती खेप्नुपर्ने विषयलाई उठान गरेर ‘खै हाम्रो दिलमा त घामै लागेन’ बोलको गीत ल्याउनुभएकाे थियाे । देशको परिस्थितीसंगै ठ्याक्कै मेल खाने त्यो गीतलाई गरिब दुखी जनताले निकै रुचाए ।
सुवेदीको सिर्जना गरेको ‘घाम जस्तो चम्किलो जून हुदैन’, ‘भुल्नै भयो धौँ’, ‘भुमरीमा परे भनी म’, ‘कल्पनामा भएनी देख्छु भनेको’, ‘आमा तिम्रो दुधको भारा’, ‘कति छ मनमा पीर’, जस्ता दर्जनौँ लोकदोहोरी गीत चर्चित छन् ।