सचेत गराउँदै नगरपालिकाको टोली बजारमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    सचेत गराउँदै नगरपालिकाको टोली बजारमा

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिकामा आइतबारदेखि निषेधाज्ञा हटेर बजार खुलेको छ । समुदायमा संक्रमण फैलन नदिनलाई व्यवसायीलाई सचेत गराउँदै शुक्लागण्डकी नगरपालिकाको टोली बजार निरीक्षणमा निस्किएको छ ।

    आइतबार दिउँसो मेयर किसान गुरुङ, उपमेयर सविता रसाईली, नगरप्रवक्ता खिमबहादुर कुमाल, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी र ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीको टोलीले शुक्लागण्डकीको खैरेनीटार, दुलेगौँडा र कोत्रे बजारमा बढी भिडभाड हुने पसलमा पुगेर व्यवसायीलाई सचेत गराएको हो ।

    मेयर गुरुङले व्यापार गर्दा भौतिक दूरी अनिवार्य कायम गर्न, मास्क, सेनिटाईजर र साबुनपानीको व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले बढी भिडभाड हुँदा संक्रमणको जोखिम बढ्ने भएकाले भिडभाड नगराई व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो । लापरवाही गरेमा समुदायस्तरमा संक्रमण फैलिने उहाँको भनाई छ ।

    समुदायमा कोरोना देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि भदौ ३ गतेदेिख एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकीमा निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि नगरपालिकाले पनि तीन दिन लकडाउन गरेको थियो । समुदायमा संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाको स्वाब संकलन गरी पिसीआर परीक्षण गरिएकामा थप संक्रमित नभेटिएपछि शनिबार रातिदेखि निषेधाज्ञा हटेको छ ।

    निषेधाज्ञा खुलेपनि नगरक्षेत्रमा सञ्चालित शिक्षण संस्था, प्रशिक्षण केन्द्र, पार्टी प्यालेस, पार्क, रंगशाला, जिमहल, स्विमिङ पुल, व्युटीपार्लर, सैलुन भने बन्द रहनेछन् । भेला, जुलुस, जात्रा, मेला महोत्सव, साँस्कृतीक तथा समाजिक कार्यक्रम गर्न र सहभागी हुन रोक लगाईएको छ ।