मेक्सिकोले ३ करोड २० लाख डोज कोरोना विरुद्धको रुसी खोप किन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    मेक्सिकोले ३ करोड २० लाख डोज कोरोना विरुद्धको रुसी खोप किन्ने

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, बिहीबार

    एजेन्सी : मेक्सिकोले रुससँग कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ३ करोड २० लाख डोज खोप किन्ने भएको छ ।

    रुसको सार्वभौम सम्पत्ति कोषले उक्त परिमाणको खोप मेक्सिकोलाई बिक्री गर्ने जनाएको हो । कोषका अनुसार रूसमा निर्माण गरिएको ‘स्पुतनिक–५’ खोप मेक्सिकोको एक मुख्य फर्मास्युटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    यो सम्झौता ‘स्पुतनिक–५’ खोप निर्यातका लागि गरिएको दोस्रो सम्झौता हो । रोयटर्सका अनुसार यसअघि रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले पहिलो सम्झौता अगस्टमा काजखस्तानसँग गरेको थियो ।
    रुसले अगस्ट ११ मा कोभिड–१९ विरुद्धको खोप निर्माण सफल भएको दाबी गरेको थियो । उक्त खोप कोभिडविरुद्धको विश्वकै पहिलो खोप भएको जनाइएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोभिडविरुद्धको खोप सफल दाबी गर्दै उक्त खोप आफ्नी छोरीलाई समेत दिइएको जनाएका थिए तर अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले उक्त खोप निर्माणका क्रममा सबै प्रक्रिया पूरा गरेकोमा आशंका व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि रुसमा निर्मित खोप मापदण्ड पूरा नगरी प्रयोगमा ल्याइएको दाबी गरेको छ । तर रुसले भने ती आरोपहरूको खण्डन गर्दै खोप आपत्कालीन प्रयोगमा आइसकेको जनाएको छ ।