कृषकलाई प्रोत्साहन रकम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    कृषकलाई प्रोत्साहन रकम

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले वडा नं ५ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषि पेशामा आबद्ध उत्कृष्ट कृषक छनौट गरी गाउँपालिकाले प्रोत्साहन रकम वितरण गरेको हो ।

    वडाध्यक्ष पदमबहादुर थापाले २७ जना कृषकलाई जनही रु २० हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिनुभयो । कृषि पेशातर्फ कृषकको आकर्षण बढाउन र पेशा गरिरहेकालाई प्रोत्साहन गर्न उक्त रकम वितरण गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार बाख्रापालक कृषकलाई रु १३ हजार, कुखुरा र माछापालक कृषकलाई पनि रु ५ हजारका दरले अनुदान रकम वितरण गरिएको छ ।

    गाउँपालिकाले केही दिन अगाडी मात्रै वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले प्रत्येक वडाबाट उत्कृष्ट कृषक छनौट गरी कार्यविधि अनुसार प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिनुभयो ।

    “कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौ,” पौडेलले भन्नुभयो, “यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।” गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ ।

    पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष ०७६÷७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।