कहिले पाउँछन् कृषकले सहज रुपमा मल ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    कहिले पाउँछन् कृषकले सहज रुपमा मल ?

    गाेरा मियाँ

    ३० भाद्र २०७७, मंगलवार

    नेपाल कृषि प्रधान देशको नामले चिनिदै आएको छ । भूगोलको आधारमा हिमाल, पहाड, तराई र मधेश चार तहमा बाँडिएको छ । चार नामले चिरपरिचित भूभागहरुमा कृषि उत्पादन हुने गर्दछ । सिजन अनुसारको खेतीबाली कृषकहरुले लगाउने गरेका छन् । मौसम अनुकुल वर्षमा राम्रै खेती हुने र मौसमले साथ नदिँदा किसानको मिहिनेत खेर जाने गरेको छ । असार महिनामा रोपाइ गरी वर्षदिन खान पुग्ने धान खेती अन्नबालीहरु मध्य किसानको लागि पहिलो खेतीमा पर्ने गर्छ । वर्षायाममा धेरै खेती लगाउने मौसम भएपनि असारे महिना घाम र पानीको प्रवाह नगरी किसान धान रोप्न व्यस्त हुन्छन् । साउन र भदौ महिनामा गोडमेल गरेर उक्त धानखेतमा मल छर्ने रित धेरै अगाडीदेखि चलिआएको हो । समयमा बालीले मल नपाउँदा गाँज कुहिने र केही बचेका गाँजमा बाला नलाग्ने हुँदा परिश्रम नै खेर जानेमा किसान चिन्तित छन् । तनहुँका अधिकांश किसानले आफ्नो खेतमा मल छर्न पाएका छैनन् । दश पन्ध्र केजी मल लिन दिनभरि लाइन बस्दा बेलुका खाली फिर्ता हुनुपर्ने अवस्था सिर्जना भएको छ । नारामा सीमित कृषिप्रधान देशमा मलको हाहाकार वर्षेनी हुँदै आइरहेको छ । चैते धान र वर्षे गरी वर्षमा दुई पटक पचास केजी मल दिनभरि चर्को घाममा टट्एिर उभिएका किसानले पाउन सकेनन् । भदौ २० गतेसम्म मल आयात गरिसक्ने जिम्मा पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल ल्याउन सकेनन् । कृषि सामग्री कम्पनीले ०७६।७७ मा ३ लाख ४ हजार ५ सय मेट्रिक टन आयात गर्न सात वटा कम्पनीलाई अनुमति दिएको थियो । त्यसमा कम्पनीले साढे दुई लाख टन मात्रै आयात गरेको छ । २५।२५ हजार टन मल आयात गर्न शैलुङ र होनिकोसँग सम्झौता भएको थियो । यी दुवै कम्पनीले समयसीमाभित्र मल ल्याउने छाँट देखाएनन् । उल्टै कृषि सामग्री कम्पनीलाई म्याद थप गर्न निवेदन गरेका थिए । कृषि तथा पशुपंक्षी विकासमन्त्रीले ठेक्का अवधि नथप्ने बरु कानुनी व्यवस्था अनुसार उनीहरुमाथि कारवाही गर्ने आँट गरेका थिए । कानुनी उपचारमा जे जस्ता परिणाम आएपनि ती पछि तपसिलका विषय हुन् । धानखेतमा समयसीमा भित्र मल राखी सक्नुपर्छ खेतीबाली र किसानले वर्षदिनसम्म न्यायको पर्खाइमा बस्न सक्दैनन् । भदौ २० गतेभित्र मल आयात भैसक्नुपर्ने थियो । मल ल्याउन नसक्दा बजारमा चरम अभाव देखिएको छ । खेतीबालीले समयमा मल नपाएपछि उत्पादन घट्ने अनुमान गरिएको छ । वर्षदिनभरि खान पुग्ने खेतको धान यो वर्ष त्यत्तिकै खेर जानेमा कृषक चिन्तित छन् । मल अभावले किसानहरुलाई हरेक वर्ष असारदेखि नै पिरोल्ने गरेकोमा यो वर्ष सोही अवस्था सिर्जना हुन पुग्यो । सङ्घ, प्रदेश र स्थानीय सरकार सङ्घीय प्रणाली अनुसार स्थापित हुँदा पनि कृषकले मल नपाउनु दुःखलाग्दो विषय हो । आ आफ्नो क्षेत्र र स्थानीय तहले आगामी दिनमा मलखाद पूर्तिका लागि अहम भूमिका निर्वाह गर्न सक्नुपर्छ । सहज रुपमा किसानले मल पाउन सक्ने वातावरणको जिम्मा स्थानीय सरकारले लिन सक्नुपर्छ ।