टुकीको उज्ज्यालोदेखि बिजुलीको झलमल्लसम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    टुकीको उज्ज्यालोदेखि बिजुलीको झलमल्लसम्म

    गाेरा मियाँ

    २८ भाद्र २०७७, आईतवार

    कुनै समय शिशिको बिर्को छेडी पुराना कपडाको डोरी बनाएर मट्टिेलको सहारामा टुकी बालेर उज्ज्यालो बनाई बस्ने चलन थियो । विसं २०४३ सालसम्म पनि अहिलेका सुविधासम्पन्न शहर बजारहरुमा टुकीकै सहारा थियो । दुरदराजका गाउँबस्तीमा लाहुरेको घरमा विदेशी लाल्टिन बलेको देख्दा गाउँघरका सबै मानिस जम्मा हुने प्रचलन नै थियो । कस्तो जिनिस ल्याएको हो लाहुरेले, गाउँ नै उज्ज्यालो भएको छ भन्दै उतिबेलाका ठूलाठालुले समेत अचम्म मान्दै प्रशंसा गर्थे । कतिपय सर्वसाधारणको घरमा टुकी बाल्ने क्षमता नभएकाले बलेको आगोको अगुल्टोलाई बत्तीको ज्योति ठानेर बाटो काट्ने चलन खुब चल्यो । हिमाल र पहाडका घरगाउँमा टुकी बत्ती बलेको देख्दा बटुवाहरुलाई रातिको समय पैदलयात्रा गर्न निकै राहत पुग्थ्यो । २०४३ सालपछि स साना जलविद्युतको निर्माण शुरु भयो ।

    लघुजलविद्युत सञ्चालनमा स्थानीयको शेयर, दातृ निकायको सहयोग र तत्कालिन गाविसको बजेटले १५ किलोवाटसम्मको बिजुली उत्पादन हुने गर्दथ्यो । हिमाली र पहाडी क्षेत्रमा धेरैजसो लघुजलविद्युत मार्फत् बत्ती बाल्ने होडबाजी जस्तै बनिसकेको थियो । त्यस बेला गाउँबस्तीमा बत्ती बाल्दा स्थानीयमा धेरै खुशीयाली छाएको थियो । सर्वसाधारणले व्याजमा ऋण काढेर गरगहना र दुहुनाभैसी बेचेर पनि लगानी गरे । घर गाउँभरी उज्ज्यालो बनाउने आशा राख्दै धेरै बजेट जलविद्युतमा खन्याए । करोडौ बढीको रकम खर्चिएर तयार भएको जलविद्युत चार वर्षसम्म सुचारु हुने र त्यसपछि बिग्रिएर समस्या उत्पन्न हुँदा समस्या हुने गरेको छ । कतिपय सर्वसाधारण लगानी डुबेर निराश बनिसकेका छन् । शेयर लगानी साथै जनश्रमदान बगाएको पसिना ओभाएको छैन । यस वर्षदेखि स्थानीय सबैको लगानी खेर जाने भएको छ । ग्रामीण क्षेत्रका गाउँबस्तीमा कच्ची सडक निर्माण भएसँगै हिमाली र पहाडी क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन जडानको काम अघि बढ्ने भएको छ । स्थानीय जलविद्युत आयोजनाहरु विद्युत प्राधिकरणलाई हस्तान्तरण नगरेसम्म राष्ट्रिय प्रशारण लाइन नजोडिने भएपछि लघुजलविद्युत कागज गरेर हस्तान्तरण गर्नुपर्ने भएको छ । लघुजलविद्युतमा जडित ट्रान्सफर्मर, पोल र तार प्राधिकरणले प्रयोग गर्ने भनिएको छ । ती ठूला र महंगा मेसिन भने प्राधिकरणले जिम्मा नलिने भएपछि मेसिनहरु त्यसै बिग्रिएर जानेमा कुनै शंका छैन । सर्वसाधारण लगानीकर्ताहरुलाई यसले झनै पिरोलेको छ । उज्ज्यालोको सम्भावना नरहेको बेला स्थानीय मिलेर आफ्नो गाउँमा बत्ती बाल्ने रहरमा लघुजलविद्युतमा खाई नखाई लगाएको रकम नपाउने भएपछि स्थानीय पीडित छन् । देशभरका लघुजलविद्युत जति छन् विद्युत प्राधिकरणको अधिनमा रहेपछि सर्वसाधारणको लगानी फिर्ता गर्न सक्नुपर्छ ।