ऐनामा देखिने प्रतिविम्विले आकृति देखाएता पनि वास्तविक धरातल बाहिरी स्वरुप भन्दा पृथक हुने गर्दछ । स्वरुपीय धरातल साधन मात्र हो, साध्य हुन सक्दैन । यही पेरिफेरीमा जीवनका पानाहरु पनि साधन मात्र हुन्, साध्य होइनन । कल्पना र सपनाको महलमा रमाउनु जीवनको परिधिभन्दा बाहिरी पक्षहरु हुन् । जीवनमा सोचको तादत्म्यता नमिल्दा भोगिएको पलहरु जीवनका एउटा आयाम मात्र हुन् । जुन आयामहरु जीवनभित्र अनगिन्ती रुपमा रहेको पाईन्छ । जुन आयामलाई सामान्य चेतनाले केलाउन सक्दैन, यहि नै एकमात्र सत्यता हो, यो आयामको । विविधता भित्रको एकता त्यसैको अंश हो । आम रुपमा सबैको जीवन समान्य र उहि देखिएता पनि समान्य प्रक्रियामात्र मेल खाएको हुन्छ । संसारमा मानव जातिले देखेको र भोगेको मात्र जीवन हो भन्ने कुत्सित भावनाले ग्रसित मानसिकता भित्र खोजिएको जीवनको परिभाषा कदापी पुर्ण हुन सक्दैन । सत्यता खोज्ने भन्दा ढाक्न मानव जातिहरुको यो रोईलोले जीवनको प्रतिविम्व त भेटन सकिएला, तर जीवन भेटन सकिदैन ।
समयको गतिशिलता र प्रकृतिको निरन्तरतालाई सोच्न नसक्ने मानव जातिहरु आफुलाई अव्वल देखाउनका लागी अरुको कमजोरी देखाएर आत्मारतिमा रमाउने कुचेष्ठा गर्दछन् । कसैलाई पनि लाग्दैन कि मैले पनि गल्ति र कमजोरी गरे । जसरी पनि अव्वलतामा रम्न चाहनेहरु विषयमा तर्कशिलता भन्दा वाहिर गएर खोक्रो क्रान्तिकारिताको वकालत गर्दछन । आम मानविय प्रवृत्ति साझा हुन् । फरक यति मात्र हो कि व्यक्तिको स्वभाव र चेतनाअनुसार यसको मात्रा मात्र फरक हुन्छ, सार समान । ऐनाको आकार प्रकार फेर्देमा त्यसले दिने विम्व जसरी फरक हुदैन, त्यसैगरि मानविय स्वभाव पनि सारमा फरक हुदैन । पृथक शैली एकाध देखिएता पनि अन्तत यहि घुलमिल हुनु नै आम प्रवृति वनेको पाईन्छ । यहि आम प्रवृत्तिमा अल्झेको जीवन सुख, शान्ति र शान्ति प्राप्तिका लागी विभिन्न नाटक मंचनहरु अविरल देखिन्छन् ।
प्रतिविम्व वनावटी लाग्दछ, तर त्यो वनावटी हुदैन, भौतिक वस्तु, संरचना र आकृति वाहिरी आवरणको विम्वित संरचना हो । वाहिरी आँखाले देखिने विम्व सवैमा सत्यता खोज्नु भनेको मुर्खता मात्र रहेछ, जुन हामी अवलम्वन गरिरहेका छौ । वस्तु भित्रको अन्र्तयमा त्यसको शाव्दिकता खोज्ने चेष्टा नगर्नु भनेको जीवनको परिभाषा वुझन नसक्नु हो । सार र साधन भित्रको अन्तर नदेख्नु नै हाम्रो सवैभन्दा ठुलो कमजोरी हो । प्रकृतिको विशालता भित्र प्राप्तित वस्तुको उपयोग नै जीवन हो भन्नेहरु सृष्टिका निरन्तरता भन्दा अन्य हुन सक्दैन । घमण्ड, ईश्र्या र स्वार्थतामा नै जीवनको परिभाषा खोज्नेहरुले जीवनका वास्तविक विम्व भित्र छिर्ने ल्याकत कदापी राख्दैनन । धर्तिको त्यो असंख्य प्राणी र जीवहरुको भुमिका आफनै रहन्छ भन्ने भावना समेत विकास हुन नसकेको त्यो मानसिकतामा प्रकृतिको अनुपमताको भेउ पाउन सक्दैनन् । देखिने जीवन र भोगिने जीवन भित्रको वास्तविकता समेत चिर्न नसक्ने चेतनाको विकास हुन नसक्दा जीवनमा आउने उकुसमुकुसता उसको चेतना र कर्मको फल शिवाय अन्य हुन सक्दैन । शाव्दिकतामा यहि पेरिफेरीमा आम जीवन घुमिरहेको छ । हामी त्यसका फगत यात्रु मात्र वनिरहेका छौ । भौतिक रुपमा मात्र परिवर्तनले सम्पन्नता र खुशी प्राप्तिको शिखर चुम्ने अभिलाषा कमजोर मानसिकताका प्रतिविम्व मात्र हन्, विम्व होईनन् । अचेतन मस्तिष्कका उतारचढाव जीवनका पलहरुमा व्यतित गर्दा गर्दे जीवनका अध्यायहरु विस्तार्रै विलिन हुन जाने रहेछ । चेतनाको उचित व्यवस्थापन र मस्तिष्कमा घुम्ने लाखौ सोचको उचित व्यवस्थापन गर्न नसक्दा शारिरिक तथा मानसिक तनावका भुमरीमा जीवन फस्ने रहेछ । त्यसवाट बच्नका लागि आम प्रयत्न कदापी सफल हुन सक्दैन, सानो प्रयत्नले उम्कने नसक्ने परिवन्धमा वृहत सोचका लागि शारीरिक र मानसिक रुपमा नै कमजोर भईसकेको हुन्छ, यहि नै आम जीवन हो, जुन भूमरीमा फसेर हामी निस्कने कल्पना त गर्न सक्छौ, तर सफल हुन सक्दैनौ ।