छ महिनापछि खुले व्यास नगरपालिकाका विद्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छ महिनापछि खुले व्यास नगरपालिकाका विद्यालय

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७७, आईतवार

    तनहुँ : कोभिड–९ का कारण विगत ६ महिनादेखि बन्द रहेका तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् । व्यास नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिएसँगै नगरक्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएका हुन् ।

    नगरपालिकाले शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीको संयोजकत्वमा वैकल्पिक शिक्षा प्रणालीलाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक सदस्य रहेको एक समिति गठन गरेको थियो । सोही समितिको सुझावका आधारमा नगरपालिकाले विद्यालय सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।

    नगरपालिकाबाट जारी गरिएको निर्देशिका बमोजिम विद्यालय सञ्चालन गर्न अनुमति दिइएको व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाको निर्णय बमोजिम धेरै विद्यार्थी भएको ठाउँमा तीन सिफ्टमा कक्षा सञ्चालन गरिनेछ । शिक्षा शाखा प्रमुख रेग्मीले धेरै विद्यार्थी भएको ठाउँमा बिहान, दिउँसो र साँझ गरी तीन समयमा कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो । थोरै विद्यार्थी भएको ठाउँमा भने बढीमा २५ जना विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न लागिएको छ ।

    दमौलीस्थत वाराही बोर्डिङ स्कूलका प्रिन्सिपल लक्ष्मण ताम्राकारले आइतबारदेखि विद्यालय बोलाइएको र केही दिनभित्रै नियमित पढाई सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार कुल विद्यार्थीको ५० प्रतिशत विद्यार्थी आएका छन् ।

    “कसरी विद्यालय सञ्चालन गर्ने भनेर छलफल गरिरहेका छौ, सङ्घीय सरकारले तत्कालै विद्यालय नखोल्न भनेको छ, स्थानीय सरकारले खोल्दा पनि फरक पर्दैन भनेकाले विद्यालय खोलेका छौ,” ताम्राकारले भन्नुभयो, “पर्ख र हेरकै स्थितिमा छौ ।” उहाँका अनुसार कति सिफ्टमा विद्यालय चलाउने भन्ने बारेमा पनि छलफल गरिएको छ । विद्यालयमा गत वर्ष एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत थिए । “अहिले कतिपय विद्यार्थी गाउँमै फर्किए, कतिपय विद्यार्थी सरकारी विद्यालयमा गए, यकिन तथ्याङ्क पनि केही दिनभित्र आउँछ,” उहाँले भन्नुभयो ।

    दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले अनलाइनमा पहुँच नभएकाहरुलाई विद्यालय बोलाएर पढाउन शुरु गरिएको जानकारी दिनुभयो । तर अनलाइनमा पहुँच भएकाहरुलाई भने अनलाइनबाटै पढाइराखिएको छ । “सकेसम्म सबैलाई अनलाइनमा नै अध्यापन गर्ने व्यवस्था मिलाउँदैछौ,” पौडेलले भन्नुभयो, “अनलाइनमा पहुँच नहुनेहरुलाई चाँही विद्यालय बोलाएर पठनपाठनको व्यवस्था मिलाएका छौ ।” उहाँका अनुसार विद्यालयमा दुई सिफ्टमा कक्षा सञ्चालन हुनेछन् । बिहान १० बजेदेखि १२ः३० बजेसम्म र २ बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन हुनेछन् ।

    निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले आवश्यक सुरक्षा अपनाएर दुई सिफ्टमा कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो १ः३० देखि ४ बजेसम्म कक्षा सञ्चालन हुनेछन् ।

    फाइल तस्वीर