तनहुँ : तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौला पीडित अब्दुल गफ्फार मियॉलाई अमेरिकाबाट सहयोग रकम प्राप्त भएको छ । व्यास नगरपालिका-४ घर भई हाल अमेरिकाको न्युयोर्कमा रहनुभएका डा. अविन ओझा र सिटलमा रहनुभएका इ. अरुण ओझाले मिर्गौला पीडित मियॉलाई रु ५ हजार ५ सय सहयोग गर्नुभएको हो ।
उक्त रकम खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राससका प्रतिनिधि कृष्ण न्यौपानेले मिर्गौला पीडित मियॉलाई आइतबार हस्तान्तरण गर्नुभएको छ । आफ्नै ठाउँको व्यक्तिलाई परेको पीडामा मलम लगाउन थोरै भएपनि सहयोग गरेको डा. अविन ओझाले जानकारी दिनुभयो । “अरुलाई पनि सहयोग गर्न उत्प्रेरणा मिलोस् भनेर थोरै सहयोग गरेका हौ,” उहॉले भन्नुभयो, “पीडामा परेका व्यक्तिहरुलाई सबैले सहयोग गरिदिए उपचारमा सहयोग पुग्छ ।”
यस अगाडी पनि ओझा दाजुभाईले सोही वडा निवासी मिर्गौला पीडित रामलाल श्रेष्ठलाई रु १२ हजार सहयोग गर्नुभएको थियो ।