पाेशाक हाेइन, मास्क अनिवार्य !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाेशाक हाेइन, मास्क अनिवार्य !

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको विभिन्न नगरपालिकाभित्र चैत दोस्रो सातादेखि बन्द सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट  विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गर्दै असोज १ बाट सिकाइ सहजीकरण थाल्न निर्देशन दिएपछि तनहुँका विभिन्न स्थानीय तहका विद्यालय खुलेका हुन् ।

    इन्टरनेटको पहुँचमा भएका विद्यार्थीलाई विद्यालयले अनलाइन कक्षा चलाएका छन् । अनलाइन कक्षाको पहुँचबाहिरका विद्यार्थीलाई न्यून संख्या भए विद्यालयमै र धेरै विद्यार्थी भएका विद्यालयका शिक्षक गाउँटोलमै पुगेर पनि सिकाइ सहजीकरण गर्न थालेका छन् । 

    सात महिनासम्म घरमै थुनिएका विद्यार्थी पढ्न पाएपछि दंग छन् ।  पहिला पोसाक अनिवार्य लगाउन निर्देशन दिने विद्यालयहरूले पछिल्लो समय पोसाकको साटो मास्कलाई प्राथमिकता दिन थालेका छन् । 

    ‘विद्यालय आउँदा विद्यार्थीलाई अनिवार्य मास्क लगाउन भनेका छौं’, शुक्लागण्डकी नगरपालिका–१० छब्दी माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद सिग्देलले भन्नुभयो, ‘मास्क नभएका विद्यार्थीलाई विद्यालयले नै वितरण गरिरहेको छ ।’ 

    उहॉका अनुसार विद्यालयमै जोर–बिजोर कक्षा चलाइएको छ । मास्कसँगै विद्यार्थीलाई थर्मल गनले ज्वरो नापेर कक्षा प्रवेश गर्न दिइएको उहॉ सुनाउनुहुन्छ । ‘कोरोना संक्रमणको जोखिम झनै बढेको छ । कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षकमा संक्रमण फैलन नदिनलाई सतर्कता अपनाएको छौं’, उहॉले भन्नुभयो ।

    त्रसित मनस्थिति लिएर विद्यालय आउने विद्यार्थीलाई पाठ्यपुस्तकका अलावा कोरोनाबारे शिक्षा दिने प्रधानाध्यापक सिग्देलको भनाइ छ ।  विद्यार्थीलाई पाठ्यक्रमका अलावा कोरोनाबारेको शिक्षा दिने गरेको उहॉले बताउनुभयो ।  

    गाउँटोलमा सिकाइ सहजीकरण गर्न पुग्ने शिक्षकको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मास्क र स्यानिटाइजर अनिवार्य गरेको शुक्लागण्डकी–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माविका सहायक प्रधानाध्यापक एकनारायण भण्डारीले जानकारी दिनुभयो ।

    ‘कोरोना निको हुने भ्याक्सिन नबन्दासम्म जोखिम नै छ । जोखिम भए पनि विद्यार्थीलाई सिकाइबाट वञ्चित गराउन भएन’, उहॉ भन्नुहुन्छ, ‘जनस्वास्थ्यका मापदण्ड अपनाएर सिकाइ सहजीकरण गरिरहेका छौं ।’

    विद्यार्थी र शिक्षकलाई मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता स्वास्थ्य सामग्री खरिद गर्न नगरपालिकाले तत्कालका लागि विद्यालय सुधार योजनाको रकम उपयोग गर्न निर्देशन दिएको शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईंले बताउनुभयो ।

    ‘सर्वप्रथम विद्यालय र सिकाइ केन्द्र सरसफाइ गर्न आवश्यक छ’, उहॉले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्डअनुसार चाहिने सामग्री खरिदका लागि विद्यालय सुधार योजनाको रकम खर्च गर्न भनेका छौं ।’

    सहयोगमा पनि स्वास्थ्य सामग्री

    कोरोना संक्रमणपूर्व विद्यालयलाई शैक्षिक सामग्री वितरण गर्ने यहाँका सामाजिक संघसंस्थाले कोरोना कहरकै बीच विद्यालय खुल्न थालेपछि स्वास्थ्य सामग्री सहयोग गर्न थालेका छन् । 

    लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा १० मा पढ्ने ३२ विद्यार्थीलाई एन–९५ मास्क, ५ लिटर स्यानिटाइजर र १ थान थर्मल गन सहयोग गरेको छ ।

    यस्तै, उक्त संस्थाले सोही वडाको बरभन्ज्जयाङस्थित कुमारी आधारभूत विद्यालयलाई  पनि ३ सय थान मेडिकल मास्क, १ सय थान ग्लोब्स, ५ लिटर स्यानिटाइजर र १ थान थर्मल गन सहयोग गरेको जनाएको छ । 

    तीन घन्टा मात्र पढाइ

    आइतबारदेखि व्यास नगरपालिकाका विद्यालय खुले । यहाँका सहरी क्षेत्रका ठूला विद्यालयले अनलाइन कक्षा चलाएका छन् ।  अनलाइनको पहुँचमा नभएका विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा चलाइएको छ ।

    विद्यार्थीलाई विद्यालयमा बोलाएर कक्षा चलाउँदा ३ घन्टा मात्र समय तोकिएको नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्र रेग्मीले बताउनुभयो । धेरै विद्यार्थी भएका विद्यालयले तीन सिप्mटमा कक्षा चलाएको उहॉको भनाइ छ । ‘धेरै समय कक्षामा राख्दा विद्यार्थीलाई अक्सिजनको मात्रा कमी हुने देखिएकाले   ३ घन्टा मात्र समयसीमा तोकेका हौं’, रेग्मीले भन्नुभयो ।